फ्रान्सका राष्ट्रपति इम्यानुएल म्याक्रोँको विवादास्पद टिप्पणीले केही पश्चिमा मित्रराष्ट्रमा झमेला बढेपछि जर्मनीकी विदेशमन्त्री एनालेना बेयरबोकले बेइजिङप्रतिको आफ्नो नीतिमा युरोप एकजुट भएको बताउनुभएको छ ।
“युरोपेली अडानको सन्दर्भमा हाम्रो साझा धारणा छ । हामी आन्तरिक बजार साझा बनाउँछौँ भने ईयूको सबैभन्दा ठूलो व्यापारिक साझेदारबारे हाम्रो फरक मत रहन सक्दैन,” बेयरबोकले तियानजिनमा पत्रकारहरूसँग भन्नुभयो ।
गत साता चीन भ्रमण गरेका म्याक्रोँले एक अन्तर्वार्तामा युरोप वाशिङ्टन वा बेइजिङको ‘फलोअर’ बन्न नहुने वा ताइवानलाई लिएर कुनै पनि तनावमा फस्न नहुने बताउनु भएको थियो ।
फ्रान्सका राष्ट्रपति म्याक्रोँले बुधबार एम्स्टर्डम भ्रमणका क्रममा दिएको विवादास्पद टिप्पणीमा अडिग रहँदै अमेरिकी सहयोगी हुनुको अर्थ ‘जागिरदार’ हुनु नभएको बताउनुभएको थियो ।
म्याक्राँेंको टिप्पणीबारे सोधिएको प्रश्नमा बेयरबोकले इयू प्रमुख उर्सुला भोन डेर लेयेनसँग आफूले चीन भ्रमण गरेको तथ्य निकै महत्वपूर्ण सङ्केत भएको बताउनुभयो ।
“युरोपियन युनियनमा हाम्रा सबै मतभेदका बावजुद, हामी हाम्रो हित र मूल्यका केन्द्रीय मुद्दाहरूमा एकअर्कासँग नजिक मात्र छैनौं, साझा रणनीतिक दृष्टिकोणहरूलाई पछ्याउँछौं,” उहाँले भन्नुभयो ।
जर्मनीका रक्षामन्त्री बोरिस पिस्टोरियसले म्याक्रोँको टिप्पणीलाई ‘दुर्भाग्यपूर्ण’ भन्नुभएको थियो ।
मालीको भ्रमणका क्रममा पिस्टोरियसले भन्नुभयो, “हामी कहिल्यै पनि संयुक्त राज्य अमेरिकाको जागीरदार बनेको वा बन्ने खतरामा थिएनौं ।”
म्याक्रोँको सप्ताहन्तको अन्तर्वार्तालाई चीनमा शानदार रूपमा प्रशंसा गरिएको छ । ताइवानलाई आफ्नो अलग प्रान्तको रूपमा देखेका चीनले ताइवानमा अमेरिकी समर्थनलाई अस्वीकार गर्दछ ।
सन् १९४९ मा भएको गृहयुद्धपछि चीन र ताइवान विभाजित भएका थिए । रासस