दाङको बबई बबई नदीलाई व्यवस्थित बनाउन बबई करिडोर निर्माणका लागि सङ्घीय सरकार समक्ष पहल गर्ने निर्णय भएको छ । जिल्ला समन्वय समितिको आयोजनामा प्रत्येक महिनामा पालिकास्तरीय घुम्ती बैठक बस्दै आएको छ । बुधबार घोराही–१ चरिङेदहमा बसेको घुम्ती बैठकले घोराही उपमहानगरपालिका–१ स्थित बबई नदीको उद्गमस्थलदेखि बबई गाउँपालिकाको अन्तिम सीमा क्षेत्रसम्म करिडोर निर्माणका लागि पहल गर्ने निर्णय गरेको हो ।
बैठकले वर्षाको समयमा बर्सेनि नदीजन्य विपदले पुर्याउँदै आएको क्षति कम गर्दै करिडोरका रुपमा व्यवस्थापन गर्दै जिल्लाको महाभारत क्षेत्रमा रहेका बस्तीको वैज्ञानिक व्यवस्थापन गर्न सम्भाव्यता अध्ययनको काम अघि बढाउने निर्णय गरेको छ ।
महाभारत चुरे क्षेत्रका बस्तीमा बर्सेनि जङ्गली जनावरले क्षति पुर्याउने गरेकाले बस्ती स्थानान्तर गरेर वा वन क्षेत्र संरक्षण गरेर मानवीय क्षति काम गरी पर्यावरण संरक्षणका लागि सम्बन्धित निकायमा पहल गर्ने निर्णय गरेको घोराही उपमहानगरपालिकाका नगरप्रमुख नरुलाल चौधरीले बताउनुभयो । उहाँका अनुसार बैठकले सरकारी कार्यालयमा सुर्तीजन्य पदार्थ निषेध गर्ने निर्णय पनि गरेको छ ।
बैठकमा उपमहानगरप्रमुख चौधरीले बबई कोरिडोर, महाभारत क्षेत्रका बस्तीको वैज्ञानिक व्यवस्थापन र पर्यावरण संरक्षणलगायत विषय स्थानीय सरकारको साझा सरोकारको विषय भएको बताउनुभयो । उहाँले भन्नुभयो, “प्राकृतिक स्रोत साधनको वैज्ञानिक व्यवस्थापन हुन निकै जरुरी छ, यसका लागि जिल्ला समन्वय समितिले अघि सारेका प्रस्तावप्रति घोराहीको समर्थन छ । पालिकाले गर्नुपर्ने काम, कर्तव्य र अधिकारलाई सही ढङ्गले प्रयोग गर्न सबै पालिकासँग समन्वय गरी एजेन्डा बनाएर अघि बढ्ने छौँ ।”रासस
