कञ्चनपुरको दक्षिणी क्षेत्रमा निर्माणाधीन हुलाकी सडकको डेढ किलोमिटर सडक निर्माण चार वर्षदेखि अलपत्र छ । डोकेबजारदेखि बेदकोट नगरपालिकाको दैजीसम्म निर्माण हुने ६२ किलोमिटर सडकमध्ये ३६ किलोमिटर भने कालोपत्र भइसकेको छ ।
तीन चरणमा निर्माण भइरहेको उक्त सडकको पहिलो चरणअन्तर्गत (डोकेबजारदेखि बेलौरीसम्म)को निर्माण अन्तिम चरणमा भइरहेको हुलाकी राजमार्ग योजना कार्यालय धनगढीले जनाएको छ ।
दोस्रो र तेस्रो खण्डको निर्माण सुस्त गतिमा भइरहेको कार्यालयका प्रमुख सविन जोशीले बताउनुभयो । उहाँले बेलौरी नगरपालिका-८ पचुँइ क्षेत्रमा एक हजार छ सय मिटर सडक सीमा विवादका कारण निर्माण रोकिएको बताउनुभयो ।
वर्षांैदेखि भारतीय पक्षले अवरोध गरेकाले निर्माण रोकिएको प्रमुख जोशीको भनाइ छ । “भारतीय पक्षले सो क्षेत्रमा सीमा पिल्लर नभएको दाबी गरेपछि सीमा यकिन नहुँदा पक्की संरचना बनाउन रोक्दै आएको छ”, उहाँले भन्नुभयो, “भारतीय पक्षसँग जिल्लास्तरमा हुने सीमा बैठकमा समेत यो विषयमा छलफल भए पनि समाधान अझै भएको छैन् ।”
“उक्त सडक दशकौंँदेखि हामीले नै भोगचलन गर्दै आएका छाँैं । भारतीय पक्षले सीमा पिल्लर हराएको दाबी गरेकाले नेपाल–भारत संयुक्त सर्वे टिममार्फत समाधान गरेर अघि बढुनपर्ने देखिन्छ”, प्रमुख जोशीले भन्नुभयो ।
छ वर्षअघि हुलाकी सडक निर्माण थालिएको केही महिनापछि सो क्षेत्रमा भारतीय पक्षले ग्राभेल हाल्ने क्रममा अवरोध गरेपछि हालसम्म निर्माण अगाडी बढ्न सकेको छैन ।
हुलाकी राजमार्ग योजना कार्यालयले उक्त विषय समाधानका लागि जिल्ला प्रशासन कार्यालयलाई पटक–पटक पत्राचार गरेको जनाएको छ । रासस