नयाँ वर्षदेखि काठमाडौँ महानगरपालिकाले काठमाडौँ प्लाजाबाट सेवा दिने तयारी गरेको छ ।
आज सुन्धाराको जेडिए कम्प्लेक्समा रहेको कामपाको कार्यालय काठमाडौँ प्लाजा सारिएको छ । कम्प्लेक्समा रहेको प्रशासन विभागसँगै प्रमुख प्रशासकीय अधिकृतको सचिवालय, अन्तर्राष्ट्रिय सम्बन्ध सचिवालय र पाँचौँ तलामा रहेको वित्त विभाग, आन्तरिक लेखा परीक्षण एकाइलगायतका कार्यालय आज सर्ने बताइएको छ ।
अहिले कामपाको १४ विभागीय र ५८ महाशाखाले भाडाकै घरबाट विभिन्न १० स्थानबाट सेवा दिइरहेका छन् । कामपाका सहायक प्रवक्ता दीपक अधिकारीका अनुसार अहिले प्लाजामा सरसफाइ गर्ने, इन्टरनेट राख्ने र कोठा विभाजनको काम भइरहेको छ । ती काम सकेसँगै सबै विभाग स्थानान्तरण हुने हो ।
“मर्मत सकिएको विभागमा क्रमिकरूपमा सरेर नागरिकलाई सेवा दिनेछौँ”, सहायक प्रवक्ता अधिकारीले भन्नुभयो, “सर्नका लागि जति आलटाल ग¥यो कामपालाई उतीनै घाटा लाग्छ दुईतिर भाडा दिर्नुपर्छ त्यसैले सक्दो छिटो मर्मतको काम गरी सर्ने तयारी गरिएको छ ।” उहाँका अनुसार सबै सेवा एकै ठाउँबाट उपलब्ध गराउने उद्देश्यअनुसार कामपा प्लाजामा सर्न लागेको हो । नेपाल ट्रष्टको स्वामित्वमा रहेको काठमाडौँ प्लाजामा सर्नका लागि कामपा र ट्रष्टबीच यही चैत आठ गते सम्झौता भएको थियो ।
सम्झौताबमोजिम झ्याल, ढोका र लिफ्टसहित बिग्रिएका र भत्किएका संरचना बहाल रकमबाट कटाउने गरी कामपाले मर्मत गर्नेछ । प्रत्येक पाँच वर्षमा १० प्रतिशतले बहाल वृद्धि गर्ने गरी १० वर्षका लागि सम्झौता गरिएको हो । विसं २०७२ को भूकम्पअघि कामपाको सबै सेवा ऐतिहासिक बागदरबारबाट प्रवाह भइरहेको थियो । भूकम्पका कारण बागदरबारमा क्षति पुगेपछि विभिन्न स्थानमा छरिएर सेवा दिन कामपा बाध्य भएको हो । रासस