काभ्रेपलाञ्चोकस्थित अरनिको राजमार्गअन्तर्गतको धुलिखेल–खावा सडकखण्ड विस्तारको जिम्मा लिएको गौरी–पार्वती निर्माण सेवा प्रालिलाई निर्माणको कामलाई निरन्तरता दिन आजदेखि सात दिनको म्याद दिइएको छ ।

सडक डिभिजन कार्यालय भक्तपुर र निर्माण कम्पनीबीच २२ महिनामा सडक विस्तार एवं स्तरोन्नतिको काम सक्ने गरी २०७९ जेठ २० गते सम्झौता गरिएको थियो । चार किलोमिटर सडकखण्ड विस्तार एवं निर्माण सुरु भएको दश महिना बितिसक्दा दश प्रतिशत मात्रै काम गरी रोकेपछि सडक डिभिजन कार्यालय र जिल्ला प्रशासन कार्यालय तथा जिल्लास्थित जनप्रतिनिधिले कामलाई निरन्तरता दिन आजदेखि सात दिनको म्याद दिएका हुन् । निर्माणकार्य अलपत्र अवस्थामा रोक्दा उक्त सडकखण्डमा यात्रुले निकै सास्ती खेप्दै आएका छन् ।

सडक डिभिजन कार्यालय भक्तपुरका प्रमुख मेघराज मरासैनीले सडक निर्माण सुरु भएको ४७ प्रतिशत समय बितिसक्दा दश प्रतिशत मात्रै काम भएको बताउनुभयो । उहाँका अनुसार मङ्गलबार जिल्ला प्रशासन कार्यालय धुलिखेलमा भएको सरोकारवालाबीचको छलफलमा एक हप्ताभित्र सडक निर्माणले गति नलिए निर्माण कम्पनीलाई ठेक्का नै खारेज गर्नेसम्मको चेतावनी दिइएको छ । “पटकपटक लिखित र मौखिक ताकेता गर्दा पनि ठेकेदार सम्पर्कमा नआएकाले बाध्य भई यसअघि तीन दिने स्पष्टीकरण सोधेका थियाँै, स्पष्टीकरण पनि चित्तबुझ्दो आएको थिएन, अब सात दिनको म्याद दिएका छौँ”, मरासिनीले भन्नुभयो ।

मरासिनीका अनुसार सात दिनभित्र चित्तबुझ्दो गरी तीव्रगतिमा कामलाई निरन्तरता दिइएन भने सम्झौता रद्द गर्नेदेखि कालोसूचीमा राख्नेसम्मको कारबाही गरिने छ । डिभिजन कार्यालयले छ महिनाको अवधिमा निर्माण व्यवसायीलाई नौ पटक पत्राचार गरेकोमा निर्माण ढिलाइका विषयमा कुनै जानकारी नदिएपछि विभाग ठेक्का रद्द गर्ने प्रक्रियामा समेत पुगेको बताइएको छ । सम्झौताअनुसार आगामी २०८० चैत १९ सम्म काम पूरा गर्नुपर्नेछ । रासस