प्रतिनिधिसभाका सांसदहरुले गठबन्धन सरकारको भूमिका र स्वयं सदनको भूमिकाबारे प्रश्न उठाउनुभएको छ । आज बसेको प्रतिनिधिसभा बैठकको विशेष समयमा विभिन्न दलका सांसदहरुले गठबन्धनका नेताहरु भ्रष्टचार विवादमा मुछिएको भन्दै जवाफदेहिता र पादर्शिताको माग गर्नुभएको हो ।

सांसदहरुले सरकारले जनपेक्षाअनुसार काम नगर्दा उत्पन्न नैराश्यताप्रति गम्भीर हुन ध्यानाकर्षण गराउनुभयो । सांसद पदम गिरीले सङ्घीय संसद्बाट प्रभावकारी भूमिका निर्वाह हुन नसकेको गुनासो गर्नुभयो । उहाँले भन्नुभयो, “आज पहिलो बैठक प्रारम्भ भएको ९१ दिन भइसकेको छ । यस बीचमा जम्मा २१ वटा बैठक बस्यो तर उपलब्धि के भयो त ? एउटा ऐन निर्माण गर्न सकेका छैनौँ ।”

सांसद गिरीले उहाँले देशको आर्थिक अवस्था, अलपत्र ठूला आयोजना, बैंकको महङ्गो ब्याजदर र मलको मूल्यवृद्धिका विषयमा सरकारको ध्यानाकर्षण गराउनुभएको थियो । “रासायनिक मल ल्याउनका लागि सरकारले पैसा नभएको बाहनामा मूल्यवृद्धि गर्दैछ । यो दुःखद् कुरा हो”, उहाँले भन्नुभयो । उहाँले वर्तमान सरकार उत्तरदायी र जवाफदेही नहुँदा आमजनतामा निराशा बढेको बताउनुभयो ।

सांसद दीलेन्द्रप्रसाद बडूले बन्द अवस्थामा रहेको उत्तरी नाका कूटनीतिक पहलबाट तत्काल खुला गर्न आग्रह गर्नुभयो । उहाँले भन्नुभयो, “उत्तरी नाका चार वर्षदेखि यी बन्द अवस्थामा छन् । यी नाकाबाट हुने व्यापार देशव्यापीरुपमा अवरुद्ध भएको छ ।”
रासस