संयुक्त वाममोर्चा संलग्न नेपाली कांग्रेस नेतृत्वको आन्दोलनरत दलहरुसँग २०४६ साल चैत २६ गते मध्यरात नारायणहिटी राजदरबारमा वार्ता भयो । तत्कालीन पञ्चायती शासक राजनीतिक दलहरुमाथिको प्रतिवन्ध फुक्का गर्न राजी भयो । त्यसको भोलिपल्ट चैत २७ गते टुँडिखेल खुलामञ्चमा भेला भएर जनताले विजयोत्सव मनाए । खुशियाली मनाइरहेका जनसमुदायको त्यस घडीको एउटा फोटोले त्यसबेला निक्कै चर्चा बटुल्यो – त्यतिखेरको राजनीतिक माहोल र जनभावना प्रतिबिम्वित गर्न सकेको भनेर । प्रतिवन्धित दलका झण्डाहरुमाझ सेतो पहिरनमा रहेकी एक महिलाले उल्लासमा दुबै हात उठाइरहेको फोटो थियो त्यो । ती महिला दुर्गा थापा हुनुहुन्थ्यो ।

त्यस ऐतिहासिक क्षणलाई क्यामेरामा कैद गर्नुभएका फोटो पत्रकार मीनरत्न बज्राचार्य भन्नुहुन्छ, “निरङ्कुशताविरुद्धको जनताको ऐक्यवद्धताका साथसाथै जनबल कति शक्तिशाली हुन्छ भनेर पनि सन्देश दिन सकेको भनेर राजनीतिक विश्लेषकहरुले यस फोटोलाई हेरेर अथ्र्याउने गरेका छन् ।” त्यो फोटो समग्र जनआन्दोलनकै प्रतीक बन्यो ।

चैत २७ गतेको दिन खुलामञ्चबाट आफूले क्यामेराको ‘सटर स्पीड’ दबाउँदै गर्दा लेन्समा देखापरेपछि अनायासै तिनै महिलाको केही ‘सट’ खिचेको उहाँ स्मरण गर्नुहुन्छ । यो फोटो जताततै छापिन थालेपछि छविकार बज्राचार्य र आन्दोलनकारी थापा दुबै चर्चित बन्नुभयो । थापाले २०६२–६३ को जनआन्दोलनमा पनि सक्रिय सहभागिता जनाउनुभएको थियो । त्यस बखत भीडको माझ अबीरले रङ्गिनु भएका उहाँको फोटो समेत पत्रकार बज्राचार्यले खिच्न भ्याउनुभएको थियो । थापालाई ६२–६३ को जनआन्दोलनसम्मै सञ्चारकर्मी विशेष गरी फोटो पत्रकारहरुले पछ्याइआएका थिए ।
रासस