कास्कीको पर्यटकीय गाउँ याङ्जाकोटमा बुद्धजयन्तीको अवसर पारेर तीन दिने वैशाख पूर्णिमा मेला तथा महोत्सव सञ्चालन गरिने भएको छ ।

पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यका साथ याङ्जाकोट मिलन युवा क्लबले उक्त महोत्सव सञ्चालन गर्न लागेको हो । महोत्सव वैशाख २१–२३ गतेसम्म सञ्चालन गरिने क्लबद्वारा आज पोखरामा आयोजित पत्रकार सम्मेलनमा बताइएको हो । कास्कीको मादी गाउँपालिका–३ मा पर्ने याङ्जाकोटमा एक होटल र दुई सय ५० पाहुना अट्न सक्ने होम स्टे सञ्चालनमा रहेको जानकारी क्लबका अध्यक्ष विकास गुरुङले पत्रकार सम्मेलनमा दिनुभयो । पोखराबाट १९ किलो मिटर दूरीमा पर्ने उत्तरपूर्वी गाउँ याङ्जाकोटमा दुई सय घरधुरी छ भने अधिकांश गुरुङ समुदायका मानिस बस्छन् ।

महोत्सवको उद्देश्य प्राचीन परम्परा र संस्कृतिको जगेर्ना, पर्यटकीय क्षेत्रको रुपमा विकास, गाउँबाट बसाइ सरेर काठमाडाँै तथा पोखरा गएकालाई गाउँ फर्काउने वातावरण सिर्जना गर्ने, होमस्टेको विकाससँगै स्थानीय उत्पादनलाई वढावा दिनुको साथै अन्तरनिहीत प्रतिभाको प्रस्फुटन गर्ने महोत्सवको मुख्य उद्देश्य रहेको जानकारी सो अवसरमा दिइयो ।

वैशाख पूर्णिमाको अवसर पारेर विसं २०३८ देखि मेलाको रुपमा मनाउँदै आइएको भए पनि केही वर्षदेखि याङ्जाकोट महोत्सवको रुपमा मनाउन थालिएको हो । इतिहासविद् डा जगमान गुरुङ पनि यसै गाउँमा जन्मिनुभएको हो । गुरुङ जातिमा प्रसिद्ध घाटु नाच, छेलो हान्ने, नाचगान र अबिर जात्रा गर्ने प्रचलन परम्परागत रुपमा हुँदै आएको र पछिल्ला वर्षमा थप भलिबल तथा बाँस्केटबल, लोकगीत, रस्साकसी, घैटो फुटाउनेलगायत प्रतियोगिता सञ्चालन हुने सो अवसरमा बताइएको छ । याङ्जाकोट मादी गाउँपालिकाको केन्द्र पनि हो । रासस