प्रदेशभरि कोरोना भाइरसविरुद्धको चौथो तथा बुस्टर डोजको दोस्रो मात्रा लगाउनेको सङ्ख्या भने २९ हजार आठ सय ५६ मात्रै रहेको निर्देशनालयको तथ्याङ्कमा उल्लेख छ । रोग फैलिएपछि मात्रै खोप लगाउनुपर्छ भन्ने सोचका कारण बुस्टर डोज लगाउनेको सङ्ख्या न्यून भएको सुदूरपश्चिम प्रदेश स्वास्थ्य निर्देशनालयका जनस्वास्थ्य निरीक्षक मीनराज जोशीले बताउनुभयो । उहाँले भन्नुभयो, “रोग फैलिएपछि मात्रै खोप लगाउनुपर्छ भन्ने सोच अझै छ ।” प्रदेशमा खोप कम मात्रामा आएकाले यो समस्या देखिएको जोशीको भनाइ छ । उहाँले भन्नुभयो, “खोप बढी मात्रामा आयो भने सबैलाई लगाउँछौँ ।” प्रदेशमा हाल कोरोनाविरुद्धको खोप लगाउने अभियान जारी छ । पचपन्न वर्षमाथिका, दीर्घरोगी, स्वास्थ्यकर्मी, कर्मचारीलगायतलाई बुस्टर डोज दिन थालिएको छ । उनीहरुका लागि ८९ हजार डोज खोज उपलब्ध रहेको जोशी बताउनुहुन्छ । सुदूरपश्चिममा २०७७ माघ १४ गतेदेखि कोरोना भाइरसविरुद्धको खोपको अभियान सुरु गरिएको थियो । भारतसँग सीमा जोडिएको यस प्रदेशमा दैनिक कोरोना सङ्क्रमण बढ्दै गएको छ । सङ्क्रमण अधिकांश भारतबाट फर्किएकामा रहेकाले जोखिम बढेको छ । सीमानाकामा हेल्थ डेस्क स्थापनाका साथै अनिवार्य कोरोना परीक्षण गराउने गरिएको स्वास्थ्य कार्यालय बैतडीका प्रमुख योगेशप्रसाद भट्टले बताउनुभयो । प्रदेशसमा हालसम्म छ लाख ४७ हजार सात सय ३४ जनाको कोरोना परीक्षण गरिएको छ । हालसम्म ६१ हजार नौ सय ७७ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । कोरोनाबाट प्रदेशमा हालसम्म छ सय ३५ जनाको ज्यान गइसकेको छ ।(रासस)