सरकारले कुनैपनि विद्यार्थीलाई विद्यालयसम्म पुग्नका लागि आधा घण्टाभन्दा बढी पैदल हिँड्नु नपर्ने गरी विद्यालय बनाउनुपर्ने मापदण्ड तोकेको छ । तर यहाँको एक विकट गाउँमा भने विद्यार्थी विद्यालय पढ्नका लागि दैनिक तीन घण्टा भन्दाबढी पैदल हिँड्न बाध्य भएका छन् ।

पर्वतको महाशिला गाउँपालिका-४ पाखापानीका विद्यार्थी कक्षा ११ र १२ अध्ययन गर्नका लागि तीन घण्टाभन्दा बढी पैदल हिँडेर विद्यालय पुग्नुपर्ने बाधयता छ । पाखापानीमा माध्यमिक विद्यालय तीन वटा भए पनि दश जोड २ सञ्चालन भएको विद्यालय एउटा मात्र भएकाले अध्ययन गर्नका लागि टाढा जानुपरेको हो ।

लामतुनमा रहेको जनविकास मावि पुग्न पाखापानीका सिम्ले, भण्डारी थर, कोखे, चौडिल्ला लगायतका बस्तीबाट बिहान दुई घण्टा उकालो हिँडेर विद्यालय पुग्नुपर्ने बाध्यता छ । एसइईसम्मको अध्ययन स्थानीय स्वधर्म मावि र विश्वज्योति माविमा पढेपनि प्लस टु अध्ययनका लागि लामो बाटो हिँड्नु परेको कक्षा १२ मा अध्ययनरत भण्डारी थरका राहुल भण्डारीको भनाइ छ ।

विद्यार्थी शिवकला क्षेत्रीले बस्तीभन्दा टाढा विद्यालय हुँदा सास्ती खेप्नु परेको गुनासो गर्नुभयो । उहाँले भन्नुभयो, “नजिकमा विद्यालय भएको भए बिहानभरी पढेर, थोरै समयमै विद्यालय पुग्न सकिन्थ्यो, तर टाढा हुँदा न त बिहान पढ्ने समयनै हुन्छ नत घरको काम गर्ने ।”