तालिबानले अफगानिस्तान कब्जा गरेपछि उद्धार गर्नुअघि काबुलस्थित बेलायती दूतावासमा काम गर्ने नेपाली सैनिकको एक समूहलाई देश निकाला गर्ने निर्णय तत्कालका लागि स्थगित गरिएको बेलायतले बिहीबार जनाएको छ ।

भूतपूर्व ब्रिटिस गोर्खा सैनिकको १३ जनाको समूहले काबुलस्थित बेलायती र क्यानडाका दूतावास रहेको उच्च सुरक्षायुक्त कम्पाउन्डमा गार्डका रूपमा काम गरेका थिए र सन् २०२१ को शासन परिवर्तनपछि बेलायतमा बस्दै आएका थिए ।

गत हप्ता पश्चिम लण्डनको एक होटलमा छापा मारी उनीहरूमध्ये १० जनालाई हिरासतमा लिइएको थियो ।

अध्यागमन अधिकारीहरूले उनीहरूलाई नेपाल र भारत लैजान आदेश दिने कागजपत्र उपलब्ध गराएका थिए तर सरकारले बिहीबार भने उक्त अभियान रोकिएको बताएको छ ।

गृह मन्त्रालयले एएफपीलाई जारी गरेको विज्ञप्तिमा भनिएको छ, “थप समीक्षा नभएसम्मका लागि यो समूहलाई हटाउने कार्य रोकिएको छ ।”

सन् १८१५ मा ब्रिटिश शासित भारतमा पहिलो पटक भारतीय सेनाको एक भागको रूपमा सेवा गरेदेखि नै गोर्खाहरूले भीषण लडाई, वफादारी र बहादुरीको लागि ख्याति कमाएका छन्।

दुवै विश्वयुद्धका साथै फकल्याण्ड, इराक र अफगानिस्तानको द्वन्द्वमा करिब दुई लाख नेपालीले ब्रिटिश सेनालाई साथ दिएका छन् ।