सङ्खुवासभामा निर्माणधीन अरुण तेस्रो जलविद्युत् आयोजनाको प्रवेशमार्ग छयाङ्कुटी–दिदिङ सडकखण्डको छुट जग्गाको मुआब्जा प्रक्रिया अगाडि बढेको छ ।
छयाङ्कुटी–दिदिङ २४ किमी प्रवेशमार्गको छुट जग्गाको मुआब्जा प्रक्रिया अगाडि बढेको हो । आज जिल्ला प्रशासन कार्यालयमा प्रमुख जिल्ला अधिकारी कुमार वीरेन्द्र यादवको अध्यक्षतामा बसेको बैठकले अरुण तेस्रो छुट जग्गाको मुआब्जा प्रक्रिया अगाडि बढाउने निर्णय गरेको हो ।
विसं २०४६ मा मुअब्जा वितरण भएको तर २०५१÷५२ मा नापी हुँदा सरकारी स्वमित्वमा लगत कट्टा हुनुपर्नेमा व्यक्तिको नाममा भएपछि विसं २०६६÷६७ मा लगत कट्टा हुदाँको छुट जग्गाको मुआब्जा दिइने भएको हो । छुट जग्गाको मुआब्जा दिन १५ दिने सूचनासमेत प्रकाशन गरिसकिएको प्रमुख जिल्ला अधिकारी यादवले बताउनुभयो ।
पन्ध्र दिने सूचना प्रकाशनपछि मुआब्जा निर्धारण समितिको बैठकले मूल्य तोकेपछि मुआब्जा वितरण सुरु हुने बताइएको छ । प्रवेशमार्गको ‘एलाइमेन्ट चेन्ज’ हुँदा कतिपय मुआब्जा नै नलिएका व्यक्तिको जग्गाबाट समेत सडक खनिएको थियो । छुट भएको चार सय ५१ रोपनी जग्गाको मुआब्जा दिइने मुआब्जा निर्धारण समितिका संयोजक सहायक प्रजिअ मोहनमणि घिमिरेले बताउनुभयो ।