फ्रान्सका राष्ट्रपति इमानुयल म्याक्रोँले युक्रेनको तीनदिने भ्रमणका क्रममा युक्रेनमा शान्ति स्थापनाका लागि चीनको ‘प्रमुख भूमिका’ रहेको बताउनुभएको छ ।
चिनियाँ राष्ट्रपति सी जिनपिङसँगको भेटवार्ताअघि बेइजिङमा आयोजित फ्रान्सेली समुदायको भेलालाई सम्बोधन गर्दै म्याक्रोँले फ्रान्सले युक्रेनमा शान्ति र स्थिरताका लागि साझा जिम्मेवारीमा चीनसँग मिलेर काम गर्न चाहेको बताउनुभयो ।
युक्रेनमा आणविक हतियारको प्रयोगको बेइजिङको विरोध रहेको साथै कीभ र मस्कोबीचको शान्तिको प्रस्तावलाई उल्लेख गर्दै उहाँले भन्नुभयो, “चीनले उसको रूससँगको घनिष्ठ सम्बन्धलाई लिएर प्रमुख भूमिका खेल्न सक्छ ।”
राष्ट्रपति म्याक्रोँको चार वर्षपछिको पहिलो चीन भ्रमण युक्रेनमा जारी द्वन्द्वका कारण महत्वपूर्ण हुने अनुमान गरिएको छ । उहाँको कार्यालयका एक अधिकारीले सीसँगको वार्तामा दृढतापूर्वक उभिन आफू प्रयासरत रहेको बताउनुभएको छ ।
म्याक्रोँले भन्नुभयो, “हामीले द्वन्द्वको सुरुदेखि नै पीडितलाई सहयोग गर्ने निर्णय गरेका छौँ र हामीले यो पनि स्पष्ट पारेका छौं कि आक्रमणकारीलाई सहयोग गर्ने जो कोही पनि अन्तर्राष्ट्रिय कानूनको उल्लङ्घनमा सहयोगी भएको ठहर हुनेछ ।
फ्रान्सेली नेताको भ्रमणको उद्देश्यमा युरोपसँग चीनको व्यापारिक सम्बन्धको संरक्षण र पुनः सन्तुलित गर्नुका साथै एशिया–प्रशान्तमा फ्रान्सको हितको रक्षा गर्नु पनि समावेश छ ।