कर्णाली प्रदेशका प्रदेशसभा सदस्यहरुले आर्थिक मामिला तथा योजना मन्त्रालयले बजेट मनोमानी ढङ्गले बिनियोजन गरेको आरोप लगाउनुभएको छ । प्रदेशसभाको आजको बैठकमा मन्त्रालयले आफूखुसी बजेट विनियोजन गरेको भन्दै उहाँहरुले सभामुखमार्फत सरकारको ध्यानाकर्षण गराउनुभयो ।
प्रदेशसभा सदस्य सुरेश अधिकारीले आर्थिक मामिला तथा योजनामन्त्री विनोदकुमार शाहले मुख्यमन्त्री राजकुमार शर्मालाई समेत जानकारी नदिएर बजेट आफ्नो क्षेत्रमा बिनियोजन गरेको आरोप लगाउनुभयो ।
“हामी सङ्घीयता कार्यान्वयनतर्फ उन्मुख छौँ तर सङ्घीयता कार्यान्वयनको औचित्यमाथि प्रश्न उठ्ने गरी जनप्रतिनिधिबाटै काम हुन थालेको त छैन ? अर्थ विविध भन्ने शीर्षक विषम परिस्थिति, भोकमारी, सङ्कटकालीन अवस्था आपत्विपत्मा खर्च गर्ने होला नि ? किन सदनलाई जानकारी नदिएर बजेट आफूखुसी बजेट रकमान्तर गरियो ?”, उहाँले प्रश्न गर्नुभयो ।
कर्णालीका दश जिल्लामध्ये मन्त्री शाहले दैलेखमा २३, सुर्खेतमा १८, जुम्ला र जाजरकोटमा चार÷चार, कालीकोटमा दुई, हुम्ला, डोल्पा र रुकुमपश्चिममा एक÷एक गरी ५४ योजनाका लागि बजेट बिनियोजन गरिएको उहाँको आरोप छ । प्रदेशसभा सदस्य अधिकारीले मुगु र सल्यानमा भने विविध शीर्षकमा कुनै बजेट विनियोजन नगरिएको गुनासो गर्नुभयो ।
बैठकमा प्रतिनिधिसभा सदस्य खड्गबहादुर पोखरेलले एकैरातमा रु २३ करोड बजेट बाँडिएको आरोप लगाउनुभयो । प्रदेशसभा सदस्य हिक्मत विष्टले सभालाई प्राज्ञिक एवं बौद्धिक थलो बनाउनुपर्नेमा जोड दिनुभयो ।