गत वर्ष आयोजना भएका औद्योगिक मेलापछि उद्योगी व्यवसायीबाट राम्रो प्रतिक्रिया पाएपछि घरेलु तथा साना उद्योग महासंघ ताप्लेजुङले यस वर्ष पनि मेला आयोजना गरेको छ । सदरमुकाम फुङ्लिङमा औद्योगिक कृषि तथा पर्यटन मेला लागेको छ । मेलामा यस वर्ष कोशी प्रदेशका विभिन्न जिल्लाका उद्यमी एकैठाउँमा जम्मा भएका छन् । सबैले आफ्ना उत्पादन ल्याएर प्रदर्शनसहित बिक्री गरिरहेका छन् ।
पाँचथरको मिक्लाजुङ–१ बाट अघिल्लो वर्ष किबी, गुराँसका जुस, अचारलगायतका उत्पादन लिएर आउनुभएकी जुनु लावती यस वर्ष पनि मेलामा विभिन्न उत्पादन बोकेर आउनुभएको छ । “औद्योगिक मेला महोत्सवले हामी साना उद्योगी व्यवसायीलाई फाइदा भएको छ, पहिले यसरी मेला महोत्सव खासै हुँदैनथे, आजभोली समय–समयमा हुने मेला महोत्सवले उत्साह मिलेको छ”, उहाँले भन्नुभयो । सबै क्षेत्रका उद्योगी, व्यवसायी र ग्राहकसँग सम्बन्ध विस्तार गर्न मेला तथा महोत्सवले सहयोग पुगेको लावतीले बताउनुभयो । उद्योग मेलामा भएको प्रदर्शनले टाढा–टाढाका ग्राहक जोडिने र समय–समयमा माग आइरहन्छ ।
झापाको भद्रपुरबाट हस्तकलाका सामान लिएर आउनुभएकी गीता शाक्यले उद्योग मेलाबाट थप प्रेरणा र हौसला मिल्ने गरेको बताउनुभयो । “हामी उत्पादन लिएर विभिन्न जिल्लामा आयोजना भएका उद्योग मेलामा पुगेका छौँ, यसले नवीनतम् उत्पादन र सोचको विकासमा सहयोग पुग्यो, समय–समयमा हुने उद्योग मेलाले थप प्रेरणा र हौसला मिलेको छ”, उहाँले भन्नुभयो । बाँस र काठबाट बनेका हस्तकलाका सामग्री विदेशमा समेत निर्यात गर्न थालेको शाक्यले बताउनुभयो । अष्ट्रेलिया, अमेरिकालगायत देशमा उत्पादन पठाउने गरेको उहाँले बताउनुभयो । विसं २०६१ देखि उद्योग सञ्चालन गर्नुभएकी शाक्यले आफ्नो उद्योगमा चार जनालाई रोजगारी प्रदान गरेको बताउनुभयो । रासस