केन्द्रमा सत्ता समीकरण बदलिएसँगै मधेस प्रदेश सरकारबाट पनि नेकपा (एमाले) बाहिरिएको छ । नेकपा एमालेका मन्त्रीहरूले आज संयुक्त रुपमा दिनुभएको राजीनामा मुख्यमन्त्री सरोजकुमार यादवले स्वीकृत गरेसँगै एमाले प्रदेश सरकारबाट बाहिरिएको हो । मधेस प्रदेश सरकारमा एमालेका चार मन्त्री र एक राज्यमन्त्रीसहित पाँच जना सहभागी हुनुहुन्थ्यो । मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा सञ्चारकर्मीसँग कुरा गर्दै मुख्यमन्त्री यादवले केन्द्रमा राजनीतिक समीकरण परिवर्तन भएपछि एमालेका मन्त्रीहरुले राजीनामा बुझाएको बताउनुभयो । “केन्द्रमा सत्ता समीकरण बदलिएलगत्तै एमालेका मन्त्रीहरुले राजीनामा दिनेबारे परामर्श गर्नुभएको थियो तर त्यसबेला मैले नै पर्खिन भनेको थिएँ”, मुख्यमन्त्री यादवले भन्नुभयो, “केन्द्रमा गठबन्धन दलको निर्णय र विकसित राजनीतिक अवस्थाका कारण उहाँहरुले नैतिकताका आधारमा राजीनामा बुझाउनुभएको हो ।” बाँकी प्रक्रिया नयाँ गठबन्धन दलको सहमतिमा हुने उहाँको भनाइ छ । मुख्यमन्त्री यादवले बारा निर्वाचन क्षेत्र नं २ को निर्वाचनपछि नेपाली कांग्रेस, नेकपा (एकीकृत समाजवादी), लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)सहित सरकार विस्तार हुनेमा विश्वास व्यक्त गर्नुभयो ।