प्रधान सेनापति प्रभुराम शर्माले सुसङ्गठित सेना नै राष्ट्रिय सुरक्षाको आधारशीला भएको बताउनुभएको छ । महोत्तरीको बर्दिवासस्थित मध्यपूर्वी पृतना हेडक्वाटर्रमा भूतपूर्व सैनिक सम्मेलनको आज उद्घाटन गर्नुहुँदै उहाँले सेना बलियो भएमा मुलुकको राष्ट्रिय सुरक्षा र हितको संरक्षण हुने बताउनुभयो ।

प्रधान सेनापति शर्माले नेपालको स्वतन्त्रता, सार्वभौम सत्ता र राष्ट्रिय एकताको रक्षा गर्नु नेपाली सेनाको प्रमुख जिम्मेवारी रहेको उल्लेख गर्नुभयो । विकास निर्माण र पर्यावरण संरक्षण गर्नुसमेत सेनाको दायित्व भएको उहाँको भनाइ थियो । प्रधान सेनापति शर्माले भन्नुभयो, “हामी कमजोर हुनु भनेको राष्ट्रिय सुरक्षा र हितलाई खलल पु¥याउने तत्व सलबलाउनु हो । तसर्थ, नेपाली सेना यस विषयमा सदैव सजग र सतर्क रहिआएको छ ।” समयानुकूल आफूलाई तयार गरेर मुलुकको आवश्यकता अनुसार परिचालित हुन हरहमेसा सेना तत्पर रहेको उहाँको भनाइ थियो । “समपर्ण भाव, चेन अफ कमाण्ड तथा एकता नै सेनाको शक्ति हो”, यी कुरालाई सधँै सबैले स्मरण गरेर अघि बढ्नुपर्ने प्रधान सेनापति शर्माले उल्लेख गर्नुभयो ।