कञ्चनपुरको दोधारा चाँदनी नगरपालिकाले चालु आर्थिक वर्षमा नगर क्षेत्रका गरिब तथा विपन्न समुदायका लागि आवास निर्माण थालनी गरेको छ ।

नगरपालिकाले ‘मेयर–उपमेयर’ आवास कार्यक्रमअन्तर्गत यहाँ १९ घर निर्माण थालिएको नगरपाकिलाका प्रवक्ता ओम बस्नेतले जानकारी दिनुभयो । उहाँका अनुसार नगर क्षेत्रभित्र गत वर्ष पनि पूर्वसङ्घीय सांसद डा दीपकप्रकाश भट्ट र सुदूरपश्चिम प्रदेशसभा सदस्य पूर्वमन्त्री मानबहादुर सुनारको पहलमा समेत यहाँ विपन्न समुदायका लागि दुईकोठे पक्की घर बनेका थिए ।

“चालु आवमा नगरबाट १९ र हाम्रो वडाबाट विनियोजित बजेटले तीन घर निर्माणको अन्तिम चरणमा छन्”, वडा नं ६ का वडाध्यक्षसमेत रहनुभएका प्रवक्ता बस्नेतले भन्नुभयो, “प्रदेशको जनता आवास कार्यक्रममार्फत पनि यहाँ विपन्न तथा गरिब समुदायलाई घर बनाइएको थियो ।”

यसअघि सङ्घीय सांसद भट्टले यहाँ घर निर्माणका लागि रु ५० लाख विनियोजन गरेको वडाध्यक्ष बस्नेतको भनाइ छ । चालु आवमा यहाँ १९ घर निर्माणका लागि ‘मेयर उपमेयर’ कार्यक्रममार्फत रु ४५ लाख बजेट विनियोजन गरिएको उहाँले जानकारी दिनुभयो ।

“विपन्न समुदायले आवास नहुँदा वर्षात् र हावाहुरीका बेला निकै सास्ती खेप्नुपर्ने अवस्था आउँथ्यो”, उहाँले भन्नुभयो, “गरिब, विपन्न र दलितलगायत निम्न आयस्रोत भएकाको समस्या समाधानका लागि जनप्रतिनिधि सक्रिय छौँ ।”