कैलालीको जानकी गाउँपालिका वडा नं १ दुर्गौलीमा मरेका चौपाया व्यवस्थापन नहुँदा गौशाला दुर्गन्धित बनेको छ ।
गाउँपालिका कार्यालयबाट करिब तीन सय मिटरको दूरीमा गौशाला बनेको छ । केही समय किसानको अन्न बाली जोगाउनका लागि बनाइएको गौशालामा गाउँपालिका र स्थानीय किसानको लगानी छ ।
संयुक्तरुपमा लगानी भएको गौशाला बाहिरबाट राम्रो देखिए पनि त्यसभित्रको नाजुक अवस्थाका बारेमा समिति र गाउँपालिका कोही जानकार छैनन् । मरेका चौपाया व्यवस्थापन हुन नसकेर गौशाला आसपासको क्षेत्र दुर्गन्धित बनेको छ । नाक छोपेर हिँड्नुपर्ने स्थिति रहेको स्थानीय महेश चौधरी बताउनुहुन्छ ।
गौशालाभित्र मरेका गाईको व्यवस्थापन नहुँदा आसपासका क्षेत्रका स्थानीयलाई बस्नसमेत गाह्रो भएको स्थानीय बपल रावत बताउनुहुन्छ । “मरेका गाईको व्यवस्थापन नहुँदा आसपासका क्षेत्र दुर्गन्धित बनेका छन्, त्यसमा समिति पनि जिम्मेवार बन्न सकेको छैन, गाउँपालिकाको कुरै छोडौँ”, रावत भन्नुहुन्छ ।
वडा नं १ मा गौशाला व्यवस्थापनकै लागि स्थानीय कृषकबाट चन्दा सङ्कलनको काम पनि भइरहेको छ । गाउँका बडघरमार्फत चौपायाको आहाराका लागि स्थानीयबाट प्रतिघर रु एक सयका दरले रकम सङ्कलन भइरहेको वडाध्यक्ष सुरेशकुमार चौधरी बताउनुहुन्छ । स्थानीयबाट सङ्कलन भएको रकमले जग्गा भाडामा लिएर घाँस खेती गर्ने योजना चौपाया व्यवस्थापन समितिले बनाएको छ । रासस