रोटरी क्लब अफ पाटन हेरिटेजले भाइदेग मन्दिर पुनःनिर्माणका लागि रु १४ लाख संस्कृति सम्पदा संरक्षण समूहलाई हस्तान्तरण गरेको छ ।

रोटरी क्लब अफ पाटन हेरिटेजका संस्थापक अध्यक्ष गणेश कार्कीले संस्कृति सम्पदा संरक्षण समूहका अध्यक्ष पृथ्वीबहादुर पाँडेलाई उक्त रकमको चेक हस्तान्तरण गर्नुभएको हो । रोटरीले १९९० सालको भुइँचालोले भग्नावशेष बनाएको पाटन दरबार क्षेत्रको भाइदेग मन्दिर पुनःनिर्माणका लागि सम्पदा यात्रा कार्यक्रम सञ्चालन गरेर सङ्कलन गरेको रकमको चेक उपलब्ध गराएको हो ।

क्लबले गत फागुन ६ गते शिवरात्रिका दिन मङ्गलबजारदेखि कीर्तिपुरको उमामहेश्वर मन्दिरसम्म सम्पदा यात्रा गरेर उक्त रकम जुटाएको थियो । कार्यक्रममा ललितपुर महानगरपालिकाका प्रमुख चिरीबाबु महर्जनले नेपाल सरकारको सार्वजनिक खरिद ऐनका कारण सम्पदा निर्माण तथा पुनःनिर्माणमा गुणस्तरीय काम हुन नसक्ने बताउनुभयो ।

“सार्वजनिक देवालय, शिवालय तथा मठमन्दिर निर्माणका लागि बोलपत्र आह्वान गर्दा गुणस्तरीय काम हुन सक्दैन, कम गुणस्तरको हुन्छ, त्यसकारण संस्कृति र सम्पदा मासिन पुग्छ, सम्पदा बचाउन र देवालय, शिवालय तथा मठमन्दिरको गुणस्तरीयता कायम गर्न उपभोक्ता समितिमार्फत स्थानीय कलाकार र कालिगढबाट गरिनुपर्छ”, उहाँले भन्नुभयो ।

उहाँले महानगरले भाइदेग मन्दिर पुनःनिर्माणका लागि अहिलेसम्म रु एक करोड २३ लाख दिइसकेको जनाउँदै यस वर्षका लागि रु ५० लाख छुट्याइएको जानकारी गराउनुभयो ।