नवलपरासी गैँडाकोटमा रहेको मुकुन्दसेन दुग्ध उत्पादक सहकारी संस्था लिमिटेडले दाना उद्योग सञ्चालनमा ल्याएको छ ।

गैँडाकोट–११ हर्कपुरमा रहेको सहकारीले रु एक करोड ९४ लाख ८५ हजार दुई सय ६४ लगानीमा उद्योग सञ्चालनमा ल्याएको हो । कृषि तथा पशुपक्षी विकास मन्त्रालय, नेपाल लाइभस्टक सेक्टर इनोभेशन आयोजना, विकेन्द्रीकृत आयोजना सहयोग एकाइ पोखराको ५० प्रतिशत अनुदान र सहकारीको ५० प्रतिशत लगानीमा गैँडाकोट–११ मा ‘मुकुन्दसेन दाना उद्योग’ सञ्चालनमा ल्याइएको संस्थाका अध्यक्ष गोपाल श्रेष्ठले जानकारी दिनुभयो ।

संस्थाका अध्यक्ष श्रेष्ठले उद्योग सञ्चालनका लागि संस्थागत लगानी रु ३९ लाख चार सय ६२, बैंक ऋण रु ५८ लाख ४८ हजार छ सय २४ तथा आयोजना अनुदान रु ९७ लाख ३६ हजार एक सय ७८ रहेको जानकारी दिनुभयो । दाना उद्योगमा पेलेट दाना र मास दाना गरी दुई किसिमको दाना उत्पादन हुँदै आएको उहाँको भनाइ छ ।

मास दाना (धुलो दाना) बनाउनका लागि १३÷१४ प्रकारका कच्चापदार्थसँगै प्रोटिनको प्रयोग गरिने अध्यक्ष श्रेष्ठले बताउनुभयो । मास दानालाई मेसिनले धुलो बनाउने हुँदा पशुलाई खान र पचाउन सजिलो हुने उहाँले बताउनुभयो । उद्योगबाट उत्पादित पेलेट दाना (गोटीवाला दाना) स्टिम गरेर बनाइने भन्दै उहाँले मास दाना बनिसकेपछि सोही दानालाई स्टिम गरेर गोटीको आकार दिइने श्रेष्ठले बताउनुभयो । पेलेट दाना पहिला नै स्टिम गरिएको हुनाले पशुलाई यो दाना पचाउन झनै सजिलो हुने उहाँको भनाइ छ ।