यही चैत १६ गते रामनवमीका दिन हिन्दू युवाहरूले निकालेको शोभा यात्रा मुस्लिम धर्मावलम्बीको मस्जिद नजिक पुग्दा भएको विवादपछि बढेको अविश्वास र नागरिकमा देखिएको सद्भाव भड्किने त्रासलाई सामान्यीकरण गर्न हिन्दू मुस्लिम धर्मावलम्बीले आज जनकपुरधाममा संयुक्त सद्भाव र्याली निकालेका छन् ।
जिल्ला प्रशासन कार्यालय धनुषा र जनकपुरधाम उपमहानगरपालिकाको अगुवाइमा दुवै धर्मका अगुवा तथा सरोकारवालाको सहभागितामा सद्भाव र्याली निकालिएको हो । ¥याली जानकी मन्दिर प्राङ्गणबाट सुरु भई राम मन्दिर, महावीर चोक, पेठिया बजार, जनकपुरधाम–५ स्थित मस्जिद हुँदै पुनः जानकी मन्दिरको प्राङ्गणमा पुगेर सभामा परिणत भएको थियो । सो सभामा दुवै पक्षले सामाजिक सद्भाव कायम गर्न आफूहरू प्रतिबद्ध रहेको भन्दै नागरिकलाई आश्वस्त पारेको थियो ।
हिन्दू धर्मावलम्बीका तर्फबाट सम्बोधन गर्नुभएका जानकी मन्दिरका महन्थ रामतपेश्वर दासले सद्भाव ¥यालीले दुवै धर्ममा आस्था राख्ने नागरिक तहमा बढेको अविश्वासलाई मत्थर गर्न महत्त्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गर्नुभयो । उहाँले विश्व प्रसिद्ध जानकी माताको जन्मस्थल जनकपुरधाममा सामान्य विवाद भए पनि दुवै धर्मावलम्बी आपसी मेलमिलाप र छलफलको माध्यमबाट सद्भाव कायम गर्न प्रतिबद्ध रहेको सन्देश देश विदेशमा प्रवाहित गर्न जरुरी रहेको धारणा राख्नुभयो ।
“एक ठाउँमा बस्दा सामान्य विवाद हुनसक्छ, त्यसको समाधान पनि मिलेरै गर्ने हो । हामी दुवै पक्षले युगौँदेखि कायम रहेको भाइचारा, सामाजिक सद्भाव र धार्मिक सहिष्णुतालाई बल पुग्ने गरी प्रतिबद्ध हुन जरुरी छ । म ईश्वर, अल्लाह वा भगवान्समक्ष दुवै धर्मका अनुयायीहरूलाई त्यही सद्बुद्धि दिनका लागि प्रार्थना गर्दछु”, महन्थ दासले भन्नुभयो ।
