राष्ट्रिय समाचार समिति (रासस) का कार्यकारी अध्यक्ष धर्मेन्द्र झाले राससको सेवालाई अब २४ घण्टे बनाउने तयारी भएको बताउनुभएको छ ।
बाँकेको नेपालगञ्जमा आज आयोजित ‘सेवाग्राहीसँग राष्ट्रिय समाचार समिति’ कार्यक्रममा उहाँले भन्नुभयो, “अब समाचारको कुनै डेटलाइन हुँदैन, जुनसुकै घटनाका समाचार तुरुन्तै प्रवाह गर्न अब राससले २४ घण्टे सेवा प्रवाहको तयारी गरिरहेको छ ।”
विगतमा प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनका बेला राससले २४ घण्टे सेवा प्रवाह गरेको प्रसङ्ग जोड्दै उहाँले अबका दिनमा राससको सेवालाई २४सै घण्टा प्रवाह गर्न आवश्यक तयारी भइरहेको जानकारी दिनुभयो ।
राससलाई विविधीकरण गर्दै लैजानेक्रममा अहिले अडियो र भिडियो सेवासमेत सुरु गरेको बताउँदै उहाँले रासस आमजनताको संस्था भएकाले आम व्यक्तिका विचारलाई समेत आलेख सेवामा प्रयोग गर्न थालेको उल्लेख गर्नुभयो ।
कार्यकारी अध्यक्ष झाले सेवालाई अझ परिष्कृत गर्न आगामी दिनमा विभिन्न मातृभाषामा समेत सेवा प्रवाह गर्ने गरी वातावरण तयार गर्न राससले स्थानीय तह र आम व्यक्तिहरूसँग छलफल गरिरहेको जानकारी दिनुभयो ।
जनताको करबाट सञ्चालन भएको राससले उत्पादन गरेका सामग्री आमजनतासँग बढीभन्दा बढी सेवा पु¥याई जनताको सुसूचित हुने लोकतान्त्रिक अधिकार प्रदान गर्नेतर्फ सजग रहेको उहाँको भनाइ थियो ।
सो अवसरमा राससका बजार प्रमुख राजाराम कार्कीले सेवाग्राहीसँग रचनात्मक सुझावसहित आफ्ना उत्पादनलाई सहुलियतपूर्ण तवरले सेवा प्रवाह गर्न राससले निरन्तररूपमा छलफल गरिरहेको बताउनुभयो । उहाँले राससको सेवा अनधिकृतरूपमा प्रयोग गरेको पाइएकाले सञ्चारमाध्यमलाई संस्थाले प्रदान गरेको सहुलियतपूर्ण शुल्कमा आधिकारिकरूपमा ग्राहक बनेर सेवा लिन आग्रहसमेत गर्नुभयो ।
नेपाल पत्रकार महासङ्घ बाँकेका अध्यक्ष दामोदर भण्डारीको अध्यक्षतामा भएको कार्यक्रममा राससका बोेर्ड सदस्य कृष्ण अधिकारी, नेपालगञ्जका अग्रज पत्रकार झलक गैरे, कृष्ण अधिकारी, शङ्कर खनाल, तुला अधिकारी, रासस नेपालगञ्जका प्रमुख युवराज पाण्डेलगायतले राससको सेवाका बारेमा बोल्नुभएको थियो । रासस