एशियाली विकास बैंक (एडिबी)को ऋण सहयोगमा कैलाली र कञ्चनपुरका चार पालिकामा फोहरमैला प्रशोधन केन्द्रको निर्माण अघि बढेको छ । आधुनिक सडक निर्माणको योजनासँगै फोहर व्यवस्थापनका लागि फोहरमैला प्रशोधन केन्द्र स्थापना गरिएको हो ।

सन् २०१५ मा कैलालीको गोदावारी नगरपालिका र धनगढी उपमहानगरपालिका तथा कञ्चनपुरको भीमदत्त र शुक्लाफाँटा नगरपालिका छनोट गरेर आधुनिक सडक, नाली, सडक पेटी, सौयबत्ती र फोहरमैला प्रशोधन केन्द्र निर्माणको थालिएको थियो ।

यहाँका चार वटै पालिकामा सडकलगायत अन्य संरचना निर्माणाधीन अवस्थामा छन् । धनगढी उपमहानगरपालिका–७ पटेलास्थित राष्ट्रिय वन क्षेत्रमा फोहरमैला प्रशोधन केन्द्र निर्माणका लागि ठेक्का सम्झौता भए पनि सो क्षेत्रको रुख कटानको आदेश नआउँदा काम अघि बढ्न सकेको छैन ।

कैलालीको गोदावरी र कञ्चनपुरको शुक्लाफाँटा नगरपालिकामा भने प्रशोधन केन्द्र निर्माण भइरहेको छ । शुक्लाफाँटा नगरपालिका–११ कलुवापुरमा निर्माण थालिएको फोहरमैला प्रशोधन केन्द्रको रमण–केएस जेभीले निर्माणको जिम्मा लिएको थियो । यहाँको श्रीकृष्ण सामुदायिक वन क्षेत्रमा करिब पाँच हेक्टर क्षेत्रफलमा प्रशोधन केन्द्र निर्माण भइरहेको छ ।

आगामी वैशाखभित्र रुख कटानको काम सक्ने लक्ष्य लिइएको निर्माण कम्पनीका प्रतिनिधि अमित यादवले जानकारी दिनुभयो । रू २६ करोड लागतमा निर्माण हुने उक्त प्रशोधन केन्द्र बीस महिनाभित्र निर्माण सक्ने गरी सम्झौता भएको उहाँले बताउनुभयो । “एक वर्ष जति त रुख कटानको आदेश आउनै समय लाग्यो । प्रधोशन केन्द्र निर्माणस्थलमा आठ सय १३ रुख कटान गर्नुपर्ने छ”, यादवले भन्नुभयो ।