दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाले दिक्तेल बजारस्थित माटिकोरेमा निर्माणाधीन ‘दिक्तेल फुटबल स्टेडियम’ (रङ्गशाला)को काम अवरुद्ध हुनुको कारणसहित सम्झौताअनुसार पुनःनिर्माण सुरु गर्न ठेकेदार कम्पनीलाई पत्राचार गरेको छ । जिल्लाको प्रमुख व्यापारिक केन्द्र दिक्तेल बजारस्थित माटिकोरे खेलमैदानलाई स्तरोन्नति गरेर रङ्गशाला बनाउने गरी आह्वान गरिएको ठेक्का आशीर्वाद–मोहन एन्ड व्यासीगाउँ–इन्द्रलक्ष्मी जेभीले लिएको छ ।
प्रदेश सरकार र नगरपालिकाको साझेदारीमा सम्पन्न गर्ने रु दुई करोड ९६ लाख ४१ हजार चार सय ९५ ठेक्का सम्झौता भएको निर्माणाधीन रङ्गशालामा ढेड महिनादेखि ठेकेदार कम्पनीले कुनै पनि काम गरेको छैन । सुरुआती चरणमै काम नभएपछि प्रमुख प्रशासकीय अधिकृत सुभाकर पौडेलले ठेकेदार कम्पनीलाई पठाउनुभएको पत्रमा समयमै निर्माण सुरु नगरी सम्झौतामा उल्लेखित समयभित्र कार्य सम्पन्न नभएमा कार्यालयबाट म्याद थप नहुने उल्लेख गरिएको छ ।
नगरपालिकाले ठेकेदार कम्पनीलाई लेखेको पत्रमा निर्माणसम्बन्धीको मासिक प्रगति विवरण पेस गर्नसमेत भनिएको छ । रङ्गशालाको काम गर्दागर्दै ठेकेदारले बिनाकारण काम रोकेर अलपत्र छाडेको स्थानीय बासिन्दाले बताएका छन् ।
योजनाको सम्झौताबमोजिम पहिलो किस्ता पेश्की भुक्तानी भइसकेको तर निर्माण सुरु नभएको जनाउँदै नगरपालिकाले समयमै योजना सम्पन्न हुनेमा विश्वास गर्न सकिने अवस्था नभएको जनाएको छ । दश स्थानीय तह रहेको जिल्लामा एकमात्र माटिकोरे खेलमैदानलाई रङ्गशालाको रूप दिने गरी काम सुरु गरिएको थियो ।