बगाले थापाको प्राचीनता र राजकाज:नेपालका अधिकांश जिल्लाहरुमा छरिएर रहेका आत्रेयगोत्री बगाले थापा क्षत्रीहरुको उद्गम थलो म्याग्दी जिल्ला हो । यी बगाले थापाहरु भारतको देहरादुन, मणिपुर, सिक्किम, पञ्जाव आदि क्षेत्रहरुमा पनि रहेका छन् । बडाकाजी अमरसिंह थापा, मूख्तियार तथा कमाण्डर–इन–चिफ भीमसेन थापा र नेपालका प्रथम प्रधानमन्त्री माथवरसिंह थापा यही थापा वंशका हुन् । यस वंशका मूल पुरुष कालु थापा हुन् । कालु थापा वि.सं. १२४६ मा डोटीका राजा भएका थिए ।

अनुसन्धानको क्रममा ऐतिहासिक ताकमकोट :

“आत्रेयगोत्री बगाले थापाहरु(को) श्री शाके. ११११ (वि.सं. १२४६) मा डोटी काँडा मालिकामा अत्रेयगोत्री त्रिप्रवर, शुक्ल यर्जुवेदी धर्नुवेदी, मध्यान्दिनी शाखाध्यायी श्री कालु थापाको जन्म, कर्म, शिक्षा, दीक्षा राज्य स्थापना वंश विस्तार भयो (योगी, २०४६ः भूमिका) ।” भन्ने भनाइले थापा राज्यको इतिहास शुभारम्भ भएको बताउँछ । “आत्रेयगोत्री बगाले थापा कालु वि.स. १२४६ मा डोटीको राजगद्दीमा बसेको कुरा वंशावलीहरुमा स्पष्ट लेखिएको देखिन्छ र तिनै वंशावलीलाई आधार मान्दा कालु थापाका छोराहरु जेठा, माहिला र कान्छा क्रमशः पुला, ताकम र ज्यामरुकमा राजा भएको मान्नु पर्ने हुन्छ (बानियाँ, २०६२ः६) ।” यहाँ कालु थापाका ३ भाइ छोराहरु उल्लेख भए पनि उनका छोराहरु ४ भाइ थिए । यहाँ उल्लेख गर्न छुटेका साइँला छोराको नाम विरु थापा थियो र उनी रुकुमकोटका राजा भएका थिए ।

कालु थापाका ४ भाइ छोराहरुको नाम माथि नै उल्लेख भइसक्यो । “नेपालको एकीकरण, संरक्षण र सम्वद्र्धनमा नेपालका अनेकौ भाइभारदारहरुले आफ्नो रगत र पसिना बगाएका छन् । ती भारदारहरु मध्ये बगाले थापा वंशको पनि महत्वपूर्ण स्थान छ । यो वंशको उद्गम स्थान कर्णाली प्रदेश मानिन्छ । यिनीहरु यहाँबाट पूर्वतिर बसाइ सर्दै गएर गण्डकी प्रदेशमा पुगेको देखिन्छ । यिनीहरु पश्चिमबाट पूर्वतिर सर्दै गएको कुरा थापा वंशावलीमा यस प्रकार उल्लेख गरिएको छ (बानियाँ, २०७०ः३) ।” थापा वंशावलीको विवरण यसप्रकार छ ः “ ……. श्री साकेः ।। ११११ सम्वत् १२४६ साल देषि थापाहरुका सन्तति कुलका आदि कालु थापा हुन ः ।।१।। कालु थापाका चेला ४ जेठा पुन्याकर थापाः ।। माहिला तारापति थापाः ।। साहिँला विरु थापाः ।। कान्छा धर्मराज थापाः ।। पुलामका जेठा हुनः ।। ताकमका माहिला हुनः ।। जमरिकका कान्छा जसोधर थापा (धर्मराज) हुनः तिनले जमरिकमा राज्य पनि ग¥याः ताहाँ देषि तिनी आयाका हुनः ।।२।। …. (योगी, २०१२ः ११९–२०) ।” बगाले थापाको उपस्थिति सर्वप्रथम जुम्लाको सिञ्जा क्षेत्रमा भएको मानिन्छ । यी थापाहरु जुम्लाबाट डोटी, म्याग्दी, लिमिठाना(पर्वत), लमजुङ हुँदै गोर्खा पुगेको पाइन्छ । जुम्लामा छँदा सैनिक भारदारका रुपमा रहेका थापाहरु केही कालखण्ड राजा नै भएर शासन चलाए भने गोर्खा पुगेपछि पुनः राजदरवारको सम्मानित पदहरुमा रहन थालेको पाइन्छ । “थापाहरु खस क्षत्री हुन् । एक थरी मगर थापाहरु पनि हुन्छ ।

कर्णाली प्रदेशमा थापाहरुको अस्तित्व निकै अगाडि देखि पाइन्छ । विशेष गरेर कर्णाली प्रदेशमा खस मल्ल राजाहरुको बलियो राज्य खडा भए पछि लडाकु गुण भएका थापा वंशजहरुले यस राज्यको भारदारीमा सजिलै स्थान पाएको देखिन्छ । कर्णाली प्रदेशका प्रसिद्ध राजा पृथ्वीमल्ल, अभय मल्लहरुका पालाका अभिलेखबाट उक्त कुरा थाहा पाइन्छ । पृथ्वीमल्ल, अभय मल्लहरुले गरिदिएका ताम्रपत्रहरुमा उल्लेखित भारदारहरुमा थापाहरु पनि हामी पाउँछौं । उदाहरणार्थ वि.सं. १४१३ मा पृथ्वी मल्लले गोहलु जोशीलाई गरिदिएको ताम्रपत्र, अभय मल्लको वि.सं. १४४८ को ताम्रपत्र आदिलाई देखाउन सकिन्छ । पृथ्वीमल्लको पालामा कर्णाली प्रदेशमा थापाहरुले ढुङ्गे धारा आदि बनाई जनहितको काम गरेको उदाहरण पनि पाइन्छ । जुम्ला कालिकोट दरामा रहेको एक ढुङ्गेधारामा श्री शाके १२६० ….. श्री पृथ्वी मल्ल देव ….. चिरंजयतु धर्मभद्र थापा सुकृतम्” भन्ने अभिलेख कुँदिएको छ । अभय मल्लपछि कर्णाली प्रदेशको उक्त खस राज्य टुक्रियो र क्रमशः बाइसी राज्य खडा हुन थाले । त्यस बेला पनि थापाहरु भारदारकै रुपमा कायम थिए भन्ने तत्कालिक अभिलेखबाट थाहा पाइन्छ (संहिता श्रेष्ठ, २०४६ः१–२) ।”
बगाले थापाको इतिहास खोज्दै जाँदा अझै माथिसम्म पनि पुग्न सकिन्छ । अध्ययन अनुसन्धानको क्रममा बगाले थापाको उपस्थिति ईशाको पाँचौं शताब्दीसम्म पुगेको पाइन्छ । “ईशाको करिब पाँचौं शताब्दीतिर जुन बेला काठमाडौं उपत्यका मानदेव प्रथम र भारतवर्षमा हर्षबर्धन राज्य गर्दथे, त्यसबेला वर्तमान मध्यपश्चिमाञ्चल क्षेत्रको सुदूर उत्तरमा अवस्थित हुम्ला ताराको मुख्य प्रशासक बगाले थापाहरु नै थिए र तिब्बतका राजाले उनीहरुलाई कर बुझाउने गर्नाले उनीहरु भोटका राजाहरुका अधिपति भएर रहेका थिए भन्ने कुरा मल्ल वंशावलीमा पाइएको छ (थापा, २०५९ः ११–१२) ।” यी ऐतिहासिक प्रमाणित तथ्यहरुबाट बगाले थापाहरु नेपालका प्राचीनतम जातिहरु मध्ये एक हुन भन्ने विषय स्वतः प्रमाणित हुन गएको छ ।

 

२. बगाले थापाको परिचय:
नेपालका अधिकांश थरहरुको उत्पत्ति कर्णाली प्रश्रवण क्षेत्रका ठाउँहरुबाट भएको पाइन्छ । जस्तो जुम्लाको ‘धिता’ भन्ने ठाउँबाट ‘धिताल’, रुकुमको ‘गोताम’ भन्ने ठाउँबाट ‘गोतामे’, दैलेखको ‘पोखर’ भन्ने ठाउँबाट ‘पोखरेल’ थरको उत्पत्ति भएको पाइन्छ । थापा थर भने गाउँको नामबाट नभई सरकारी सैनिक पदबट उत्पत्ति भएको हो । बाह्रौं शताब्दीको पूर्वार्धमा जुम्ला क्षेत्रमा उदय भएको खस राज्यको सैनिक सेवामा मध्यम दर्जाका सैनिक पदाधिकारीहरुलाई ‘थापा’ भनिन्थ्यो । थापाका साथै खड्का, राना, बुढा पनि त्यस बेलाका सैनिक पदहरु थिए । ती पदहरु पनि अहिले जातमा परिणत भइसकेका छन् ।
“विभिन्न पदाधिकारीहरुको सन्दर्भमा जस्तै अधिकारी र कार्की सँगै थापा, खड्का, राना, बुढा आदि पैकेलाहरुको उल्लेख भएको छ । थापा र खड्काहरुको उल्लेख वीर स्तम्भहरुमा पनि पाइन्छ । लडाईंमा मर्ने योद्धाहरुको स्मृतिमा धार्मिक कार्य गरी स्थापना गरिएका शिलास्तम्भहरुलाई वीरस्तम्भ भनिन्छ । दुल्लु सातखम्बका अभिलेखबाट पनि थापा, खड्का आदि सैनिक पद थिए भन्ने देखिन्छ । त्यहाँको प्रथम स्तम्भलेखमा लेखिएको छ, “ओं स्वस्ति श्री शाके १२५६ (वि.स. १३९१) मासानि १ तीथय ५ नक्षत्रे ३ भिंउ(म) देवको पुत्र यसु थापाको थि(वी) र स्तम्भ ।।” यस सँगैको तेस्रो शिलास्तम्भमा लेखिएको छ, “ओं स्वस्ति श्रिशाके १२५६ भिउ(म) दे (वको) पुत्र धामु खड्गाहको थि (वी) र षंभ ।।”
यसरी एकै वर्ष अर्थात् साके १२५६ मा स्थापना गरिएका वीरस्तम्भमा भीमदेवका दुईभाइ छोराहरु यसु र धामुलाई क्रमशः थापा र खड्गा भनिएको छ । एउटै बाबुका दुईभाइ छोराहरु एउटालाई थापा र अर्कोलाई खड्का भनेर लेखिएकाले थापा र खड्का दर्जाका नाम थिए भन्ने निश्चित हुन्छ । “खड्गा” संस्कृत शब्द खड्गग्राहको संक्षिप्त या अपभ्रंस रुप हो जसको अर्थ खड्ग लिएर युद्ध गर्ने भन्ने हुन्छ । यसैगरी थापा पनि सैनिक दर्जा देखिन्छ किनभने यसुथापा, दासुथापा, राजथापाहरुका नामबाट विरस्तम्भहरुको स्थापना भएको पाइएको छ (अधिकारी, २०५३ः७५) ।”


अहिलेको हकमा प्रष्टाउनु पर्दा कुनै बाबुको दुईवटा छोरामध्ये जेठो छोरा जर्नेल र कान्छा छोरा कर्नेल छ भने त्यही दर्जाले हामीले उनीहरुलाई सम्बोधन गर्दछौं । त्यसैगरी माथि सम्बोधन भएका ‘थापा’ र ‘खड्गा’ पनि त्यसरी नै त्यसबेलाको मर्यादाक्रमअनुसार सम्बोधन गरिएका सैनिक पदहरु थिए ।
थापा थरको उत्पत्तिका सम्बन्धमा केही लेखकहरुले ठाउँठाउँमा राजाको रुपमा स्थापना भएकोले स्थापनाबाट –थापना अनि थापा भएको उल्लेख गरेका छन् । पूर्व कालखण्डमा सानाठुला राजा त बाहुन, ठकुरी, अन्यथरिका जातिहरु, गुरुङ, मगर, राई, लिम्वु पनि भएका छन् । तिनीहरु पनि राजाका रुपमा स्थापित नै भएका हुन, त्यसो भए यिनीहरुलाई पनि थापा भनिनु पर्ने हो । यसरी त नेपालमा राजा भए जति सबै जातथरहरु थापा मात्रै हुनु पर्ने हो । त्यसै गरी कसैले बागलुङ जिल्ला थन्थाप भन्ने ठाउँको नामबाट थापा थर उत्पत्ति भएको दावी गरेका छन् । यी सबै सोधखोज विनाका कल्पनामात्र हुन् भन्ने प्रमाण माथिको विवरणबाट प्रष्ट हुन्छ ।

३. बगालेको परिचय ;
बगाले भन्नाले ८–१० संख्या वा सोभन्दा बढीको जीवित प्राणीहरुको समूहलाई जनाउँछ । निर्जीव वस्तुहरुमा प्रायः बगाल प्रयोग भएको पाइँदैन । यही बगालमा संलग्न रहने सदस्यहरुलाई बगाले भनेर सम्बोधन गरिन्छ । सैनिकहरुको जुन संरचना हुन्छ त्यो पनि सानो देखि ठूलो संख्याको बगाल नै हो । सामान्य नागरिकहरुले बोलचालको भाषामा पहिला सैनिकहरुको समूहलाई बगाल भन्ने गरेको पाइन्छ । थापा थर आफैमा सैनिक पद रहेको र थापाहरुको जीविकोपार्जनको पहिलो रोजाइ सैनिक सेवा नै हुने भएकोले शारीरिक तन्दुरुस्तीले भ्याएसम्म थापाहरु सैनिक सेवामै रमाउने गर्थे र अहिले पनि त्यो क्रम जारी छ । त्यसैले पुस्ता दरपुस्ता सबै परिवार नै बगाल अर्थात् सेनामा रहने हुँदा यी थापाहरुलाई समाजले बगाले भन्न थाल्यो । बगाले संवोधन हिनताबोधक होइन सम्मानसूचक वीरताको बोधक थियो । थापाहरुले त्यस सम्बोधनलाई समाजले आफ्नो पेशालाई आदर गरेको अर्थमा बुझे र बगाले संवोधनलाई सहजै स्वीकारे । यसरी थापाका अगाडि बगाले उपथर अर्थात् कैरन जोडिन गयो ।
कसैले बगाले कैरनलाई थापाहरु भारतको बंगालबाट यता आएको हुनाले बंगाले भन्दाभन्दै बगाले भन्न थालिएको हो भन्ने पनि गरेका छन् तर बगाले थापाहरु शुद्धरुपमा कर्णाली प्रदेशका आदिवासी हुन् । बंगालसँग यिनीहरुको गोरु बेचेको साइनो समेत छैन ।

४. कुल परम्परा र वंशावली एक नहुनुको कारण ;
तत्कालीन राजपरिवार र पाँडेहरुको झुठ्ठा र कपटपूर्ण षडयन्त्रका कारण वि.सं. १८९६ मा मूख्तियार भीमसेन थापा र वि.सं. १९०२ मा नेपालका प्रथम प्रधानमन्त्री माथवरसिंह थापाको दुःखद अवसान भएको थियो । यी दुईवटा घटनापछि बगाले थापाहरुको बिउ नै मास्ने गरी राज्यबाटै अभियान चलाइएको थियो । त्यस बेला थापाहरु आफ्नो ज्यान बचाउन कहाँ कहाँ पुगे ? अझै सम्म यकिन गर्न सकिएको छैन । यो घटनाको लगत्तै वि.सं. १९०३ मा जंगबहादुर कुँवरले मच्चाएको रक्तरञ्जित कोतपर्वमा बचेखुचेका थापाहरुलाई पुनः निर्ममतापूर्वक काटियो–मारियो । यसरी राज्य, पाँडे र राणाबाट ३–३ पटक सम्म थापाको बिउ नै भुट्ने कालो कर्तुत हुन गएकोले यी थापाहरुले ज्यान बचाउन कति दुःख, कष्ट सहे होलान् अनुमान मात्र गर्न सकिन्छ । ज्यानै बचाउन धौ–धौ भएको बेला कुल परम्परा र वंशावली बचाउने सम्भावना नै थिएन । यही कारणले गर्दा बगाले थापा क्षत्रीहरुको कुलपरम्परा र वंशावली एक हुन नसकेको हो ।

 

५. बगाले थापा शुद्ध क्षत्री हुन्;
पौड्याल, अर्याल, मल्ल लगायतका केही अन्य जातका वंशावलीहरुमा बगाले थापाहरुलाई आफ्नो वंशसँग जोडिएको पाइन्छ । पौड्याल वंशावलीमा कालु थापालाई वत्सराज भट्ट (ब्राम्हण)को छोराको रुपमा देखाइएको छ । एउटै व्यक्ति वत्सराजका पाँचभाइ छोराहरुलाई जेठो–सिग्देल, माइलो–शाही ठकुरी, साँइलो–थापा क्षत्री, काँइलो–मल्ल ठकुरी र कान्छो–पौड्याल ब्राम्हणको रुपमा देखाइएको छ । जुन विषय आफैमा तर्क र प्रमाणहिन त छँदै छ हाँसो लाग्ने पनि छ । हिन्दू धर्म र परम्परामा अन्यत्र कहीँ पनि एउटै बाबुका छोरा पाँच प्रकारका भिन्न जातहरु लिएर जन्मेको पाइँदैन र यस्तो हुँदैन पनि । हुन्छ के भने ? ब्राम्हणले क्षत्री स्त्री ल्याई त्यसबाट जायजन्म भएमा त्यस्तो सन्तान ‘खत्री क्षत्री’ हुन्छ, अन्य जातको हुँदैन । बगाले थापाहरु राजा भई सकेका र वीर योद्धाको रुपमा सेनाको उच्च पदमा प्रतिष्ठित भएकाले उनीहरुसँग आफ्नो रगतको साइनो देखाएमा समाजमा मान प्रतिष्ठा बढ्ने र अन्य जातिहरुको आक्रमण र अवहेलनाबाट सुरक्षित रहन सकिने हुँदा बगाले थापासँग वंशावली जोडिएको हुन सक्छ । बगाले थापा क्षत्रीहरु शुद्ध ‘क्षत्री’ हुन, अन्य कुनै जातसँग घिसिएर–मिसिएर आएका होइनन् ।

६. संक्षिप्त परिचय ;
मूल पुरुष ; कालु थापा
उद्गम तथा कुल पितृ तीर्थस्थल ; ताकम, म्याग्दी (जुम्ला–डोटी हुँदै)
गोत्र ; आत्रेय
कैरन ; बगाले
जात, थर ; थापा क्षत्री
त्रिप्रवर ः आत्रेय, आर्चनानसः, श्यावाश्वः
गोत्रस्थल ; सुनीकोट, अत्रिथुम्का (बझाङ)
पुर्खाले राज्य गरेको गाउँ ; डोटी, ताकम, पुला, ज्यामरुककोट र रुकुमकोट
निसान कालिका स्थापित ऐतिहासिक ठाउँहरु ; काँडामालिका (डोटी), केवलपुर (धादिङ)
वेद ; शुक्ल युजुर्वेद
शाखा ; मन्ध्यान्दिनी
कुल देवता ; शिवजी
कुलदेवी ; कालिका भवानी (पार्वती, विन्ध्यवासिनी)
इष्ट देवता गोरक्षनाथ
देवाली पूज्य देवता; बराह, बाराही (विष्णु–लक्ष्मी), मष्ट
स्थानीय देवता; यथास्थान (सिद्ध, झाँक्री आदि)
वंशः सूर्य
पूजा वस्त्र ; रातो कलेजी
गोठका देवता ; गैडु भवानी
कुल निसान ; सूर्य चन्द्रअंकित ७ वा ४९ मरुत् गण (ताराहरु) सहित रातो–नीलो–सेतो र आकाशे रङको झण्डा
घर मन्दिरमा रोप्नु पर्ने विरुवा; अमला
लिनुपर्ने ब्रत ; आइतबार

 

७. कुल निशान ध्वजा पूजा:
बगाले थापाहरुले विभिन्न महिना र तिथिमा केही बर्ष विराई वा वर्षेनी कुलपूजा (देवाली) र निसान पूजा गर्ने गर्छन् । कुल पूजामा मुख्यतया शिवजी, कालिका, बराह, बाराही, मष्ट (वायुदेवता) र स्थानीय देवी–देवता सिद्ध, झाँक्री आदिको पूजा गर्ने प्रचलन छ । पूजा पूर्णरुपमा सात्विक वा बलीसहित गर्न सकिने परम्परा रहेको छ । सात्विक पूजा शुद्ध गाईको दूधमा खिर पकाएर फलफूल सहित कुलपितृलाई अर्पण गरिन्छ भने बली पूजा भेंडा र बोकाको बली दिएर गर्ने गरिन्छ । कालरात्री पूजामा बर्षे दशैंको महाअष्ठमीको राती बली दिने ठाउँबाट देखिने डाँडामा चन्द्रमा आधा यता र आधा उता भएको बेलामा कालिका भवानीलाई बोकाको बली दिने चलन छ । दुवै नवदुर्गामा घटस्थापना (प्रतिपदा) देखि अष्ठमीसम्म विधिपूर्वक कालिका भवानीको पूजा गरी दुर्गा सप्तशती चण्डीपाठ गर्ने र बर्षे दशैंमा महाअष्टमीको कालरात्रीमा र चैते दशैंमा दिउँसो बली चढाउने परम्परा रही आएको छ ।

७. (क) निशान ध्वजा:
जुन प्रकारले विश्वभरि रहेका विभिन्न राष्ट्रहरुका आ–आफ्ना झण्डाहरु छन त्यही प्रकारले विश्वभरिकै जाति, धर्म र सम्प्रदायलाई चिनाउने आफ्नै प्रकारका झण्डा, ध्वजा, पतका आदि पनि परापूर्व कालदेखि प्रचलनमा छन् । द्वापरयुगमा भएको महाभारत युद्धमा भगवान कृष्णले हा“केको अर्जुन चढ्ने रथमा हनुमानजीको चित्र भएको ‘कपिध्वज’ झण्डा प्रसिद्ध छ । भनिन्छ आपतको बेलामा झण्डामा रहेका हनुमानजीले डरलाग्दो हु“कार गर्दथे, जसबाट कौरव सेनामा भागाभाग हुन्थ्यो । श्रीकृष्णको मार्गदर्शन, सत्यताको अवलम्वन र कपिध्वज हनुमानको सहयोगले पाण्डवहरुले महाभारत यद्धमा कौरव माथि विजय हा“सिल गरेका थिए । यही परम्परालाई अंगिकार गर्दै बगाले थापाहरुले पनि विशेष अर्थ बोकेको निसान झण्डालाई अघि लगाई आफ्ना शुभ कार्यहरु गर्ने गरेको पाइन्छ ।
बगाले थापाको निसान झण्डा कैलेदेखि प्रचलनमा देखियो भन्ने विषयमा प्रवेश गर्दा बगाले थापाका मूल पुरुष कालु थापाको डोटी राज्यको प्रारम्भकालमा वि.सं. १२४६ देखि नै निसान झण्डा प्रयोगमा थियो भन्ने बुझिन्छ । डोटीमा स्थापित कालु थापाको राज्यबाट रुकुम जिल्लाको रुकुमकोट, म्याग्दी जिल्लाका ताकमकोट, पुलाकोट र ज्यामरुकोट राज्यहरु कव्जामा लिन साइत गर्दा उनका छोराहरुले निसान झण्डाको विधिपूर्वक पूजा गरी निसान झण्डालाई अघि लगाई त्यतातिर लगेको पाइन्छ ।

 

लडा“ईको यात्रामा आफुले पूज्ने सवै देवी देवता श्री गणेश, शिवजी, कालिका, कुलपितृ, मष्ट, बराह बराही, हनुमान, छत्रपाल, झांक्री आदिका मूर्तिलाई साथै लिई हिंड्न सम्भव थिएन । त्यसैले बगाले थापाहरुले यी सबै देवी देवताहरुलाई निसान झण्डामा विराजमान हुन आव्हान गरी त्यही झण्डामा स्थापित सवै इष्ट देवी देवताहरु आर्शिवाद दिदैं साक्षीको रुपमा रहेको मानी आफ्नो युद्ध यात्रा शुरु गर्ने गर्दथे । बगाले थापाहरुलाई आशातित सफलता पनि मिलेको थियो । आधुनिककालमा यही परम्परालाई कायम राख्दै बडाकाजी अमरसिंह थापाले नेपाल एकीकरणको पश्चिमी अभियान आरम्भ गरेको पाइन्छ । यही क्रममा बडाकाजी अमरसिंह थापाले वि.सं. १८७३ मा धादिङ जिल्लाको केवलपुरमा निसान थानको स्थापना गरेका थिए । उनले यस्तै निसान थान गोर्खा जिल्लाको फिनाम गा.वि.सको पिपलथोकमा र डोटी जिल्लाको का“डामालिकामा स्थापना गरेका थिए । निसानझण्डामा कुलले पूजेका देवीदेवताहरुलाई आव्हान गरिन्छ तापनि खास गरी युद्धमा विजय दिलाउने युद्ध देवी ‘कालिका’ लाई प्रमुख रुपमा स्थापित गरिन्छ । त्यसैले यस झण्डालाई ‘कालिका कुल निसानझण्डा’ भनिन्छ । त्यसै गरी निसानझण्डा स्थापित गरिएको मन्दिरलाई ‘निसानकालिका मन्दिर’ भन्ने गरिन्छ ।

(ख) कालिका निसान झण्डाको स्वरुप र महत्व:
निसान झण्डा ठाउ“ र अवस्था हेरी विभिन्न आकारमा बनाउन सकिन्छ । मन्दिरमा राखी पूजा गर्नको लागि मन्दिर भित्र ठाउ“ अनुसार २ह३ देखि २ह४ फुटसम्मको सालको काठ, पितल वा अन्य धातुको प्लेटमा झण्डा चित्रांकित गरी मन्दिरको गारोमा टा“सी स्थायीरुपमा राख्नुपर्छ । कपडामा झण्डा बनाई शुभकार्य विशेषमा लिई हिड्दा ३ह३ फुटको झण्डा बनाउनु उपयुक्त हुन्छ । आवश्यकता अनुसार यस भन्दा सानो या ठूलो आकारमा बनाउदा पनि खासै फरक पर्दैन । सम्भव भएसम्म मन्दिर बाहिर निकाल्ने झण्डालाई तामाको डण्डीमा राख्नु वेश हुन्छ । तामाको डण्डीको व्यवस्था हुन नसके अन्य कुनै काठ वा अन्य धातुमा पनि झण्डा राख्न सकिन्छ ।
बगाले थापाको निसान झण्डा चारकुने कपडाको प्रथम भागमा २ से.मी रातो किनारा, दोश्रो भागमा १ से.मी सेतो किनारा, तेश्रो भागमा आकाशे निलो रङ र त्यसमाथि तल देखि माथि ठाडो रुपमा ७ वटा ७ कोण भएका ताराहरु, चौथो भागमा नेपालको झण्डा आकारको दुई तहमा तिनकुने रातो रङ र त्यसमा माथि १२ कोण भएको सूर्य र तल्लो भागमा ८ कोंण भएको चन्द्रमा पुनः रातो सिमाना भएको आकार, प्रकार र रंग संयोजन हुनेछ । झण्डाको सीमाना ९द्ययबचमभच० मा राष्ट्रिय फूल लालीगुराँस राख्नुले राष्ट्रियता र सौन्दर्य झल्काउने छ । झण्डाको मुनिपट्टी निशानकालिकाको निम्न प्रार्थना राख्नु राम्रो हुन्छ । “दुःख, कष्ट सबै गरी देउ हरण । सुख, शान्ति र प्रेम देऊ तिम्रै शरण ।” झण्डाको बनावट यहा“ संलग्न चित्रबाट प्रष्ट हुनेछ ।
झण्डामा रहेको रातो रङले जीवनको निरन्तरता, सुन्दरता, प्रेम र वीरताको संकेत गर्दछ भने आकाशे निलो रङले सत्यलाई इङ्गीत गर्छ , त्यसैगरी सेतो रङले शान्तिलाई बुझाउछ।