विश्वमै लोपोन्मुख अवस्थामा रहेको सुगन्धकोकिला ९मल्लागिरि’ को उत्पादन यस वर्ष घटेको छ । हावाहुरीले फूल झारिदिएपछि दाङ तुलसीपुर उपमहानगरपालिपका–१९ छिल्लीकोटमा पाइने सुगन्धकोकिलाको उत्पादनमा गिरावट आएको हो ।
विगतका वर्षमा पाँच सय क्विन्टल सुगन्धकोकिला उत्पादन हुने गरेकोमा पछिल्लो दुई वर्षमा उत्पादन घटेको स्थानीयले बताएका छन् । विगतमा पाँच सय क्विन्टल उत्पादन हुने गरेको भए पनि यस वर्ष करिब ५० क्विन्टल मात्रै उत्पादन भएको स्थानीय प्रवीर पुनले बताउनुभयो । “विगतमा वर्षमा पाँच सय क्विन्टलसम्म हामीले मल्लागिरि बिक्री गर्थियौँ”, उहाँले भन्नुभयो, “गएको वर्ष पनि बर्सातले गर्दा फूल झारिदिएपछि दुई सय ५० क्विन्टल मात्रै उत्पादन भएको थियो, यस जर्ष झन घटेर ५० क्विन्टलभन्दा बढी उत्पादन हुन सकेन ।”
विश्वमै लोपोन्मुख मानिएको उक्त प्रजातिको वनस्पति छिल्लीकोटमा पाइन्छ । त्यसले नै त्यहाँको जीवनस्तरमाथि उठाउने गरेको हो । सुगन्धकोकिला प्रतिकिलो रु पाँचसयमा बिक्री हुँदै आएको छ । “हामीले रु पाँचसयमा सुगन्धकोकिला बिक्री गर्ने गर्छांै तर यहाँबाट लिएर साहुले रु छ सय प्रतिकिलोमा बाहिर पठाउँछन्”, उहाँले भन्नुभयो, “घोराहीमा व्यापारीसँग सम्पर्क गरेर त्यहाँबाट सुगन्धकोकिला बिक्री गर्ने गरिन्छ ।”
सुगन्धकोकिला बाहिरी देशमा पठाइने गरिन्छ । यहाँबाट कच्चा सुगन्धकोकिला लगेपछि के–के वनछ, भन्ने कुरा आफूहरुलाई थाहा नभएको स्थानीयवासी जीवराज रेउलेले बताउनुभयो । “यहाँबाट हामीले कच्चापदार्थ बेच्छौँ, त्यसबाट उच्चस्तरको सेन्ट, अगरबत्ती बनाउन प्रयोग हुन्छ, भन्ने सुनिएको छ”, उहाँले भन्नुभयो, “तर, अरु केमा प्रयोग हुन्छ, भन्ने कुरा आफूहरुलाई पनि त्यति जानकारी नै छैन ।”रासस