राष्ट्रिय समाचार समिति (रासस) का कार्यकारी अध्यक्ष धर्मेन्द्र झाले राससको समाचार कक्षलाई आकर्षक एवं उदाहरणीय बनाउने बताउनुभएको छ ।

राससको ६२औँ वार्षिकोत्सवको अवसरमा आज रासस केन्द्रीय कार्यालयमा आयोजित समारोहलाई सम्बोधन गर्दै उहाँले रासस मुलुककै एक आधिकारिक समाचार प्रदायक संस्था भएकाले यसको विकास र विस्तार गरी यसको सेवालाई प्रभावकारी र विश्वसनीय बनाउने बताउनुभयो ।

उहाँले भन्नुभयो, सरकारबाट प्राप्त हुने अनुदान र आफ्नो सीमित आम्दानीबाट खर्च व्यवस्थापन गनुपर्ने अत्यन्त कठिन चुनौती र दायित्व रहेकाले यसलाई सबैले बोध गर्नुपर्नेमा जोड दिनुभयो ।

अध्यक्ष झाले भन्नुभयो, “गोर्खा भूकम्पले क्षति पु¥याएको राससको भवन भत्काएर बनाइएका नयाँ दुई भवनसँगै राससमा कार्यरत कर्मचारी एवं पत्रकारको हकअधिकारलाई आफ्नो स्रोत र साधनले भ्याएसम्म अझै सुदृढ र विस्तार गर्दै, पुनर्ताजगी तालिम, सामयिक वृत्ति विकास, पदोन्नति र क्षमता विकास गर्दै राससको भौतिक संरक्षणको सुरक्षा एवं पूर्वाधार विकास गरिनेछ ।”

अध्यक्ष झाले आफ्नो सेवाको विविधिकरणको प्रयासस्वरुप राससले गत साउन १ गतेदेखि श्रव्यदृश्य सेवा प्रारम्भ गरेको जानकारी पनि दिनुभयो । उहाँले राससको श्रव्यदृश्य परीक्षणकालमा रहेको र तत्कालका लागि निःशुल्क उपलब्ध गराउँदै आएको भन्दै यसको ‘फिडब्याक’ उत्साहप्रद आएको बताउनुभयो । रासस