लुम्बिनी प्रदेश सरकारका स्वास्थ्यमन्त्री विष्णुप्रसाद पन्थीले नेपाली पत्रकारिताको विकासमा राष्ट्रिय समाचार समिति (रासस) ले गरेको कार्यको प्रशंसा गर्नुभएको छ ।

राससको ६२ औँ स्थापना दिवसका अवसरमा रासस लुम्बिनी प्रदेश कार्यालयले आज बुटवलमा आयोजना गरेको ‘सुशासन र समृद्धिका लागि रासस’ विषयक अन्तरक्रियामा बोल्दै मन्त्री पन्थीले समयसँगै नेपाली समाजको रूपान्तरणमा राससको भूमिका प्रभावकारी रहेको तर रासस पनि समयसँगै परिवतर्न हुनुपर्ने बताउनुभयो ।

उहाँले राससले सरकारको प्रशंसा मात्रै नभई गल्तिलाई पनि औँल्याइएका समाचारलाई पनि प्राथमिकता दिनुपर्ने बताउनुभयो । मन्त्री पन्थीले प्रदेश सरकारले आम जनताको स्वास्थ्य सेवालाई सहज ढङ्गले उपलब्ध गराउन प्रविधि र जनशक्तिको उचित व्यवस्थापन गर्न लागिएको बताउनुभयो ।

उहाँले भन्नुभयो, “स्वास्थ क्षेत्रमा जनशक्ति, मेशिन र औषधि जहाँ आवश्यक पर्छ त्यहाँ तत्काल पाउने गरी पु¥याउन एकीकृत सेवा दिने गरी स्वास्थ्य कार्यक्रम बनाउन थालेका छौँ ।”

कार्यक्रममा राससका पूर्वअध्यक्ष डा बालकृष्ण चापागाईंले नेपालको इतिहासमा सबैभन्दा बढी मिडिया आलोचित भएको बेला सत्य तथ्यमा रहेर समाचार प्रकाशन गर्ने जिम्मेवारीमा रासस रहेको बताउनुभयो ।

उहाँले भन्नुभयो, “हाम्रो पुस्ताले राजनैतिक, सामाजिक आन्दोलन गरेर बित्यो अबको समय सुशासन र समृद्धिको हो,” उहाँले भन्नुभयो, “सुशासन र समृद्धिका लागि सबै मिडियाले सक्रियतापूर्वक समाचार प्रकाशन गर्नुपर्छ ।”

कार्यक्रममा नेपाल पत्रकार महासङ्घ रुपन्देहीका पूर्वअध्यक्ष शेरबहादुर केसीले पछिल्लो समय मिडियामाथि धेरै आक्रमण भइरहेको बेला राससको महत्त्व अझै बढिरहेको बताउनुभयो ।

उहाँले समाचारको विश्सनीयतामाथि प्रश्नचिह्न खडा भइरहेको बेला राससको समाचार शैलीमा सुधारसहित अगाडि बढेकोप्रति खुसी व्यक्त गर्नुभयो ।

कार्यक्रममा नेपाल पत्रकार महासङ्घ लुम्बिनी प्रदेश महासचिव विक्रम खड्काले सरकारी बजेटमा चल्ने राससले निःशुल्क सेवा प्रदान गर्नुपर्ने सुझाव दिनुभयो । नेपाल पत्रकार महासङ्घ रुपन्देही सभापति रामराज पोखरेलले रासस सरकारी प्रचारको रूपमा मात्र नहुने सुझाव दिनुभयो । अग्रज पत्रकार सुमन अधिकारीले रासस सरकारी स्वामित्वको मात्रै नभएर सबै क्षेत्रको अपनत्व हुने गरी समाचारका ढाँचा तयार गर्नुपर्ने बताउनुभयो ।

रासस लुम्बिनी प्रदेश प्रमुख भरत केसीले राससले ६२ वर्षको इतिहासमा धेरै काम गरेको र लुम्बिनी प्रदेशमा राससको प्रभावकारिता बढाउन सबैको सहयोग र सहकार्य आवश्यक रहेको बताउनुभयो ।रासस