सोलुखुम्बुको थुलुङ दुधकोशी गाउँपालिकामा आयोजित स्थानीय तह अन्तरविद्यालय स्तरीय १३औँ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको उपाधि वीरेन्द्रदोय माध्यमिक विद्यालय, मुक्लीले जितेको छ । योसँगै सो विद्यालयले लगातार तीन वर्ष उपाधि जितेको छ ।

यही फागुन १ गतेदेखि सुरु भएको उक्त प्रतियोगितामा मुक्ली माविले २० स्वर्ण पदक जित्यो । यस्तै १२ स्वर्णसहित जनता मावि लोखिम दोस्रो तथा छ स्वर्णसहित देउसा मावि तृतीय भयो । प्रतियोगितामा विजयी छात्र छात्रालाई थुलुङ दुधकोशीका अध्यक्ष असिम राईले पुरस्कार तथा प्रमाणपत्र वितरण गर्नुभयो ।

प्रथम, द्वितीय र तृतीयलाई क्रमशः रु १५ हजार, रु १२ हजार र रु १० हजार पुरस्कार प्रदान गरिएको छ । प्रतियोगितामा उत्कृष्ट भएका खेलाडीलाई जिल्ला स्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा सहभागी गराइने छ ।रासस