कार्यसम्पादन मूल्याङ्कनमा भरतपुर महानगरपालिका उत्कृष्ट देखिएको छ । बजेट विनियोजनदेखि कार्यक्रम कार्यान्वयनसम्मको प्रदर्शनका आधारमा मापन हुने कार्यसम्पादन मूल्याङ्कनमा भरतपुर महानगरपालिका पहिलो भएको हो ।

राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगले आर्थिक वर्ष २०८०÷८१ का लागि वित्तीय समानीकरण अनुदान सिफारिस गर्ने प्रयोजनका लागि कार्य सम्पादन सूचकाङ्कका आधारमा सबै तहका सरकारको कार्यसम्पादन मूल्याङ्कन गर्ने गर्दछ । देशभरिका अन्य छ महानगरपालिका भन्दा भरतपुर उत्कृष्ट भएको हो ।

आयोगले दिएको जानकारीअनुसार भरतपुरले ७२ दशमलव २२ प्रतिशत अङ¬्क प्राप्त गरेको छ । विराटनगर महानगरपालिकाले ५९ दशमलव २४, ललितपुर महानगरपालिकाले ५८ दशमलव ४३ , काठमाडौँ महानगरपालिकाले ५६ दशमलव ५२ , वीरगञ्ज महानगरपालिकाले ५३ दशमलव २३ र पोखरा महानगरपालिकाले ४८ दशमलव ६६ प्रतिशत अङ्क पाएका छन् ।

जिल्लाका सात स्थानीय तहमध्येमा पनि भरतपुर पहिलो भएको छ । भरतपुरले ७२ दशमलव २२ प्रतिशत अङ्क पाउँदा राप्ती नगरपालिकाले ७० दशमलव ८८ प्रतिशत, कालिका नगरपालिकाले ५६ दशमलव ७५ प्रतिशत, इच्छाकामना गाउँपालिकाले ५९ दशमलव ५१ प्रतिशत, रत्ननगर नगरपालिकाले ५७ दशमलव ६३ प्रतिशत, खैरहनी नगरपालिकाले ५५ दशमलव ८३ प्रतिशत र माडी नगरपालिकाले ६० दशमलव १५ प्रतिशत अङ्क पाएका छन् । भरतपुर महानगरपालिका प्रमुख रेनु दाहालले आयोगले अध्ययन सुरु गरेपछि सधै भरतपुर महानगरपालिका अन्य महानगरपालिका भन्दा अगाडि रहेको बताउनुभयो ।रासस