बागमती प्रदेश सरकारले पाँच वर्षको अवधिमा गरेका कामको विवरण समेटिएको पुस्तक आज सार्वजनिक गरिएको छ । बागमती प्रदेश मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयद्वारा आज आयोजित पत्रकार सम्मेलनमा सो पुस्तक सार्वजनिक गरिएको हो ।

प्रदेशका मुख्यमन्त्री शालिकराम जम्मकट्टेलले पाँच वर्षे उपलब्धि समेटिएको पुस्तक आज सार्वजनिक गर्नुभयो । पुस्तकमा पाँच वर्षमा गरिएका कामक विवरण समेटिएका छन् । प्रदेश सरकार स्थापना भएदेखि अहिलेसम्मका भएका उपलब्धि समेटेर पुस्तक प्रकाशन भएको मुख्यमन्त्री जम्मकट्टेलले बताउनुभयो ।

प्रदेश सरकारले पाँच वर्षको अवधिमा धेरै काम गरेको र पुस्तकमा छोटकरीरूपमा समेटिएको उहाँले बताउनुभयो । पाँचवर्षे उपलब्धिका बारेमा आम नागरिकलाई जानकारी गराइदिन पनि उहाँले आग्रह गर्नुभयो । विसं २०७४ माघ ३ गतेदेखि प्रदेशको अस्थायी राजधानी तोकिएदेखि अहिलेसम्म प्रदेश सरकारले गरेका कामको विवरण पुस्तकमा समेटिएको छ । प्रदेशका मन्त्रालय नै पिच्छे गरिएका कामको विवरण पुस्तकमा समेटिएको प्रदेशका प्रमुख सचिव मुकुन्दप्रसाद निरौलाले बताउनुभयो ।

सम्पादित कार्यहरूको संक्षिप्त विवरण

नेपाल सरकारले मिति २०७४ माघ ३ गते प्रदेश नं ३ को राजधानी हेटौँडा तोकी प्रदेश प्रमुख नियुक्त गरेको र सोही वर्षको माघ २८ गते नेपालको संविधानबमोजिम प्रदेश प्रमुखबाट डोरमणि पौडेललाई मुख्यमन्त्री नियुक्त गरी प्रदेश सरकारको गठन भएको थियो ।
रासस