राजधानीको पूर्वाेत्तर भेगमा रहेको गोकर्णेश्वर महादेव मन्दिर क्षेत्रमा महाशिवरात्रिको तयारीस्वरुप सरसफाइ गरिएको छ ।

गोकर्णेश्वर महादेव मन्दिर क्षेत्र प्रबन्ध समितिको नेतृत्वमा भएको सरसफाइमा जिल्ला वन कार्यालय काठमाडौँ, यज्ञडोल (जगडोल) सामुदायिक वन उपभोक्ता समूह, गोकर्णेश्वर नगरपालिकाका वडा नं ४ र ९ का स्थानीयवासी एवं जनप्रतिनिधिलगायतको सहभागिता थियो । मन्दिर क्षेत्र प्रबन्ध समितिको अध्यक्षसमेत रहनुभएका वडा नं ४ का अध्यक्ष जयराम महतले कार्यक्रमको शुभारम्भ गर्दै मन्दिर क्षेत्रमा प्रत्येक महिना विशेष सफाइ अभियान गर्न लागिएको बताउनुभयो ।

समितिका कर्मचारीबाट नियमित सफाइ हुने गरे पनि वाग्मती नदी एवं सामुदायिक वन क्षेत्रमा हुने फोहर व्यवस्थापनका लागि विशेष सफाइ अभियान चलाउन लागिएको जानकारी उहाँले गराउनुभयो । कार्यक्रममा प्रमुख जिल्ला वन अधिकृत बद्रीकुमार कार्की, सामुदायिक वन उपभोक्ता समूहका अध्यक्ष सुदर्शन सिग्देललगायतले धार्मिक क्षेत्रलाई पवित्रस्थलका रूपमा विकास गर्न नियमित सफाइ अभियान जारी रहनुपर्नेमा जोड दिनुभयो ।

राजधानीको पूर्वोत्तर क्षेत्रको महत्वपूर्ण धार्मिकस्थलका रूपमा परिचित गोकर्णेश्वर मन्दिरमा प्रत्येक वर्ष महाशिवरात्रि, भाद्रकृष्ण औँसी अर्थात् बाबुको मुख हेर्ने दिन, हरितालिका (तीज) र पौषकृष्ण औँसीका दिन भक्तजनको विशेष भीड लाग्ने गर्छ । पशुपतिनाथमा श्रीयन्त्र र गोकर्णेश्वरमा बालयन्त्रको पूजा आराधना गरिने विधि रहेकाले पनि यो तीर्थस्थलको महत्व रहेको छ । राजधानीमा पशुपतिनाथपछि बढी महत्व बोकेको मन्दिर भएकाले यस क्षेत्रलाई सफा बनाउन समितिले काम थालेको जनाइएको छ । गोकर्णेश्वर नगरपालिकाले पशुपतिनाथमा आउने भक्तजनलाई गोकर्णेश्वर महादेव मन्दिरमा लैजान पशुपति क्षेत्रमा विद्युतीय प्रचार सामग्रीसमेत राखेको छ ।

गोकर्णेशवर महादेव मन्दिरमा महाशिवरात्रिका लागि सबै तयारी पूरा भएको मन्दिर क्षेत्र प्रबन्ध समितिले जनाएको छ । बिहीबारदेखि नै मन्दिर क्षेत्रमा दीपावली सुरु भएको छ । महाशिवरात्रिका अवसरमा गोकर्णेश्वर महादेव मन्दिर परिसरमा शनिबार धुनी जगाउने कार्यक्रमसमेत रहेको जनाइएको छ ।रासस