गण्डकी प्रदेश सरकारले यस वर्षको प्रदेश निजामती सेवा पुरस्कार घोषणा गरेको छ । प्रदेश स्थापना दिवसका अवसरमा बिहिबार सो पुरस्कारका लागि छनोट भएका १० कर्मचारीको नाम सार्वजनिक गरिएको हो ।

मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका अनुसार एक जनालाई सर्वोत्कृष्ट, तीन जनालाई उत्कृष्ट र छ जनालाई प्रदेश निजामती सेवा पुरस्कार प्रदान गरिनेछ । सर्वोत्कृष्ट प्रदेश निजामती सेवा पुरस्कार पाउनेमा मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका सचिव मनमाया भट्टराई पङ्गेनी हुनुहुन्छ । उहाँले रू एक लाख पुरस्कार प्राप्त गर्नुहुनेछ ।

उत्कृष्ट प्रदेश निजामती सेवा पुरस्कारका लागि लमजुङ डिभिजन वन कार्यालयका अधिकृत पूर्णेश्वर सुवेदी, कास्की यातायात व्यवस्था कार्यालयका अधिकृत डिल्लीराम रिजाल र मनाङ स्वास्थ्य कार्यालयका वरिष्ठ जनस्वास्थ्य अधिकृत बाबुराम आचार्य छनोट हुनुभएको छ । उत्कृष्टतर्फको पुरस्कार राशि जनही रू ७५ हजार रहेको छ ।

यस्तै रू ५० हजारको प्रदेश निजमती सेवा पुरस्कारबाट यस वर्ष पोखरास्थित प्रदेश सङ्ग्रहालयका अधिकृत करुणा राई, मुस्ताङ पूर्वाधार विकास कार्यालयका इञ्जिनीयर विवेक सिग्देल, कृषि, ऊर्जा तथा जलस्रोत मन्त्रालयका अधिकृत अनिल सुवेदी, आर्थिक मामिला मन्त्रालयका अधिकृत रामेश्वर ढुङ्गाना, प्रदेश लोकसेवा आयोगका सहायक पाँचौँ तहमा कार्यरत विष्णु पोखरेल पौडेल र गण्डकी प्रदेशसभा सचिवालयका सूर्यबहादुर बानियाँ रहनुभएको छ ।रासस