सर्लाहीको ईश्वरपुर नगरपालिका–६ स्थित हुलाकी सडक छेउमा सरकारी एम्बुलेन्स अलपत्र रहेको करिब आठ वर्ष भयो । सोही वडामा रहेको ईश्वरपुर स्वास्थ्य चौकीको सरकारी एम्बुलेन्स हुलाकी सडक छेउमा करिब आठ वर्षदेखि अलपत्र हुँदासमेत सरोकारवाला निकाय मौन छ ।
देश सङ्घीय संरचनामा जानु पहिला नै खरिद भएको एम्बुलेन्स विगत लामो समयदेखि सडक छेउमै अलपत्र अवस्थामा छाडिएको छ । ना१झ ९६८ नंको एम्बुलेन्समा स्थानीय सरकारको नजर पुगेको छैन भने सेवाग्राहीहरु महँगो भाडा तिरेर निजी एम्बुलेन्सको प्रयोग गर्न बाध्य भएका छन् ।
भारत सरकारको सौजन्यमा खरिद भएको उक्त एम्बुलेन्स सोही चौकीको एम्बुलेन्स सञ्चालन समितिमार्फत सञ्चालनमा हुँदै आएकामा थानीय तहका पूर्वजनप्रतिनिधि र समिति बीचको विवादका कारण बेवारिसे भएको हो । समितिको खातामा करिब रु सात लाख बचत रहे पनि एम्बुलेन्स मर्मतमा कसैको पनि ध्यान नपुगेको नगरपालिकाको स्वास्थ्य शाखाले जनाएको छ ।
“उक्त एम्बुलेन्स विगत लामो समयदेखि बेवारिसे छ । एम्बुलेन्स मर्मत गरी सञ्चालनमा ल्याउन आफूहरुले पूर्व नगरप्रमुखसँग पटक पटक आग्रह गरे पनि उहाँले वास्ता नगर्नुभएको नगरपालिकाको स्वास्थ्य शाखा संयोजक सुगेन्द्र महतोले बताउनुभयो । उहाँका अनुसार लामो समय भैसकेकाले अब मर्मत गरेर पनि एम्बुलेन्स प्रयोगमा ल्याउन सकिने अवस्था छैन तर समितिको खातामा करिब रु सात लाख रकम रहेकाले त्यसको सट्टामा अर्काे एम्बुलेन्स खरिद सकिन्छ ।रासस