नेपाल प्रहरीका महानिरीक्षक धीरजप्रताप सिंहले प्रहरी सेवा निवृत्त हुन लाग्नुभएका प्रहरी अतिरिक्त महानिरीक्षक (एआइजी) पूजा सिंहलाई आज एक समारोहका बीच बिदाइ गर्नुभएको छ ।

प्रहरी प्रधान कार्यालय नक्सालमा आज आयोजित एक समारोहका बीच उहाँलाई बिदाइ गर्दै महानिरीक्षक सिंहले उहाँले अविछिन्न सेवाद्वारा नागिरक र सङ्गठनलाई गर्नुभएको योगदानको प्रशंसा गर्नुभयो । उहाँले अवकाशपछिको व्यावसायिक एवं सुखमय पारिवारिक जीवनको शुभकामना पनि व्यक्त गर्नुभयो ।

विभिन्न कालखण्डमा सफल महिला कमाण्डरका रूपमा निर्वाह गरेको भूमिकाको स्मरण गर्दै प्रहरी महानिरीक्षक सिंहले सेवा निवृत्तपछि पनि सङ्गठनलाई उहाँबाट रचनात्मक सहयोगको अपेक्षा राखेको बताउनुभयो ।

सेवा निवृत्त हुन लाग्नुभएकी प्रहरी अतिरिक्त महानिरीक्षक सिंहले एकपटकको प्रहरी सधैँ प्रहरी रहने भएकाले आफू बर्दीयुक्त जीवनबाट मात्र अवकाश हुन लागेको बताउनुभयो ।

प्रहरी सेवामा रहने क्रममा सङ्गठनका सदस्यबाट प्राप्त सद्भावप्रति सधँै ऋणी रहने बताउँदै उहाँले यो अवस्थासम्म आइपुग्ने क्रममा नेतृत्व विकासमा मार्गदर्शन गर्नुहुने अग्रज प्रहरीप्रति सम्मान व्यक्त गर्नुभयो । उहाँले भन्नुभयो, “नेपाल प्रहरीको प्रशासनतर्फको पहिलो महिला प्रहरी अरिरिक्त महानिरीक्षक हुने क्रममा तालुक गृह मन्त्रालय र प्रहरी महानिरीक्षकको भूमिकाप्रति आभार एवं कृतज्ञता व्यक्त गर्न चाहन्छु ।”

उहाँ विसं २०४९ चैत ११ गते प्रहरी निरीक्षक पदमा नियुक्त भई प्रहरी सेवामा प्रवेश गर्नुभएको थियो । प्रहरी अतिरिक्त महानिरीक्षक प्रहरी नियमावली २०७१ बमोजिम ५६ वर्षीय उमेरहदका कारण उहाँ यही फागुन ७ गते अवकाश हुन लाग्नुभएको हो । रासस