आज फेब्रुअरी १४ तारिख ‘भ्यालेन्टाइन डे’ अर्थात् प्रणय दिवस । प्रेमीप्रेमीकाको आज विशेष दिन । युगल जोडीले माया साटासाट गरेर र आपसमा शुभकामना आदानप्रदान गरेर महत्वका साथ मनाउने गर्दछन् ।
प्रणय दिवसका अवसरमा आज देशका विभिन्न स्थान तथा सार्वजनिक पार्क तथा उद्यानहरु प्रेमजोडीले भरिभराउ हुन्छन् । नेपालमा पनि पछिल्लो समय प्रणय दिवस मनाउने चलन बढेर गएको छ ।
आजका दिन पाल्पाको पर्यटकीय रानीमहल पनि यस्तै प्रेमजोडीको रोजाइमा पर्छ । कालीगण्डकी नदीमाथि चट्टानसहित बनेको रानीमहल दरबारमा प्रणय दिवसमा पुग्ने कैयौँ प्रेमजोडी भेटिन्छन् आज । यो दिन अन्य दिनको तुलनामा धेरैजसो जोडी बनेर पुग्ने गर्दछन् । वर्षको एक दिन भेटघाट गर्ने, घुमघाम गर्ने र मायाप्रेम साटासाट गर्ने समय निकालेरै रानीमहलमा प्रेमीप्रेमिकाहरु जाने गरेका छन् ।
पाल्पा र स्याङ्जाको सिमानामा पर्ने सुन्दर रानीमहल दरबार र यहाँको मनोरम वातावरणका कारण पनि प्रमिल जोडी आकर्षित हुने गरेका छन् । यस्ता जोडीहरुले चिटिक्क परेको सुन्दर रानीमहल दरबार र सोही दरबारसँग जोडिएको पवित्र कालीगण्डकी नदीलाई साक्षी राखेर मायाप्रेमका कुरा गर्ने गर्दछन् । यहाँ आउने प्रेम जोडीहरुले प्रेम प्रस्ताव गर्ने, गुलाबको फूल एवं विभिन्न उपहार दिएर मायामा रमाउने गरेका हुन्छन् ।रासस