कालिकोटबाट २० वर्षअघि उपचारका लागि काठमाडौँ आउनुभएकी लालकला सुनारको शरीर रोगले गल्दै र खल्तीमा पैसा रित्तिदै गएपछि छिमेकीले सल्लाह दिए, “खाली बस्नुभन्दा भद्रकाली मन्दिर परिसरमा पूजा सामग्रीको पसल राख्नू ।”

कमजोर शारीरिक अवस्था भएकी उहाँलाई पैसा कमाउनका लागि यो काम उपयुक्त लाग्यो । त्यसपछि उहाँ श्रीमानसँगै यही ठाउँमा बसी पूजा सामग्री बिक्रीको व्यवसाय सुरु गर्नुभयो । अहिले यसबाट राम्रो आम्दानी भइरहेको भन्दै उहाँले सन्तोष व्यक्त गर्नुभयो ।

“गाउँमा भने जस्तो उपचार नहुँदा काठमाडौँ आइराख्नुपर्ने मलाई यो काम पाएपछि यसै बस्ने बाहना भने आम्दानीको गतिलो बाटो भेटिएको छ, यसबाट मेरो उपचार खर्च र अन्य खर्च गर्न पुगेको छ”, उहाँले भन्नुभयो ।

मन्दिर परिसरमा पूजा सामग्री बिक्री गर्ने बर्दियाका भीमबहादुर महतरा पनि यसबाट हुने आम्दानीबाट सन्तुष्ट हुनुहुन्छ । आमा नमकला महतराले ४५ वर्षसम्म मन्दिर परिसरमा चलाएको पूजा सामग्री पसल यतिबेला आफूले सम्हालेको उहाँको भनाइ छ । “लामो समय आमाले पसल चलाउनुभयो, अहिले उमेर बढ्दै गएपछि २०७२ सालयता मैले हेरिरहेको छु”, उहाँले भन्नुभयो ।

मन्दिरमा विशेष गरी सामान्य पूजाका साथै सवारी साधान पूजा गर्न आउनेको बढी भिड लाग्छ । मन्दिर परिसरमा सवारी साधन ल्याउन र पार्किङ गर्न सहज भएकाले भिड लाग्ने गरेको उहाँको अनुभव छ । “बिहान ३ बजेदेखि बेलुका ८ बजेसम्म राम्रो बिक्री हुने हो भने त महिनाको रू दुई लाखसम्मको व्यापार हुन्छ तर हरेक दिन एकनास हुँदैन”, उहाँले भन्नुभयो, “शनिबार बढी भिड लाग्छ, औसतमा मासिक रू ६० देखि ७० हजारसम्म आम्दानी हुन्छ ।”रासस