सर्लाहीको मलङ्गवा नगरपालिका–२ मा निर्माण गरिएको सुविधा सम्पन्न बसपार्क प्रयोगमा ल्याइएको छ । मलङ्गवा नगरपालिका –२ मा सङ्घीय सरकारको रु आठ करोड ३१ लाखको लागतमा निर्माण गरिएको उक्त बसपार्क करिब एक वर्षपछि सञ्चालनमा ल्याइएको हो ।

मलङ्गवा नगरपालिका–९ मा रहेको पुरानो बसपार्क साँघुरो भएको र बजार विस्तारसँगै सवारी साधनको चाप बढेका कारण नयाँ बसपार्क निर्माण गरिएको थियो । नयाँ बसपार्कको निर्माण भएको करिब एक वर्ष हुनै लाग्दा पनि सरोकारवाला निकायले ध्यान नपु¥याउँदा बसपार्क प्रयोगविहीन अवस्थामा रहेको मलङ्गवा यातायात प्रालिका अध्यक्ष राजीव यादवले बताउनुभयो ।

आफूहरु नयाँ बसपार्कमा जान तयार रहे पनि ठेकेदार कम्पनीले नगरपालिकालाई बसपार्क हस्तान्तरण नगरेको र नगरपालिकाले पनि चासो नदिँदा नयाँ बसपार्कमा जान नपाइएको उहाँको भनाइ थियो । बसपार्क निर्माण भए पनि सरोकारवाला निकाय एकले अर्काेलाई आरोप लगाउँदै लामो समयसम्म मलङ्गवा नगरपालिका¬–९ मा रहेको पुरानो बसपार्कबाटै बस सञ्चालन गरेका नगरप्रमुख नागेन्द्रप्रसाद यादवले बताउनुभयो । उहाँका अनुसार नयाँ बसपार्कबाट बस सञ्चालनमा ल्याउने विषयमा जिल्लाका यातायात व्यवसायीसँग पटक–पटक छलफल गरिए पनि कुनै निष्कर्ष निस्केको थिएन् । केही यातायात व्यवसायीले नयाँ बसपार्कमा आफूहरु नजाने भन्दै नगरपालिकामा डेलिगेसन पनि आएका नगरप्रमुख यादवले बताउनुभयो । तर नगरपालिकाले कार्याविधि नै बनाएर नयाँ बसपार्कबाट बस सञ्चालन गरेको छ । करिब २५ रोपनी क्षेत्रफलमा निर्माण भएको बसपार्कमा एकैसाथ ५२ वटा ठूला र २० वटा साना गरी ७२ वटा यात्रीबाहक सवारीसाधन पार्किङ गर्नसक्ने क्षमता रहेको जिल्ला ट्राफिक प्रहरी कार्यालयका प्रहरी निरीक्षक ईश्वर कार्कीले बताउनुभयो ।