गण्डकी प्रदेशका कृषि, ऊर्जा तथा जलस्रोतमन्त्री बेदबहादुर गुरुङले मानवीय कारण प्राकृतिक सम्पदामा असर परेको बताउनुभएको छ । सहमति संस्थाको आयोजनामा नवलपरासी (बर्दघाट–सुस्तापूर्व)को गैँडाकोटमा सुरु भएको ‘नारायणी नदी सम्मेलन–२०२३’ लाई सम्बोधन गर्दै स्वच्छ पानी मानव जीवनका लागि अपरिहार्य रहेको छ भन्नुभयो ।
उहाँले यसको संरक्षणमा सबै तह र तप्काबाट लाग्नुपर्नेमा जोड दिनुभयो । मन्त्री गुरुङले नारायणी नदी सम्मेलनले प्रदेशको जलस्रोत नीति बनाउन सघाउ पुग्ने विश्वाससमेत व्यक्त गरेका छन् । “यो सम्मेलनले निकालेको निष्कर्षका आधारमा प्रदेश र राष्ट्रको जलस्रोत नीति बनाउन मद्दत पुग्छ”, उहाँले भन्नुभयो, “अहिले भइरहेको मानव र प्रकृतिबीचको द्वन्द्व समाधान गर्ने गरी निष्कर्ष निकाल्ने सक्नेमा विश्वस्त छु ।”
पूर्व विज्ञान तथा प्रविधिमन्त्री ई गणेश साहले नदी संरक्षणमा सामूहिक प्रयासको खाँचो औल्याउनुभयो । राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागका महानिर्देशक डा महेश्वर ढकालले नेपालजस्तो भूपरिवेष्ठित राष्ट्रमा पानीको महत्व अति नै रहेको जनाउँदै पानीलाई सार्वजनिक सम्पत्तिका रुपमा लिँदै नारायणी, राप्ती र रीऊलगायतका नदीमा हुने दोहन रोक्नुपर्नेमा जोड दिनुभयो । नेपालमा पानीको स्रोत सीमित रहेको जनाउँदै महानिर्देशक डा ढकालले आकाशबाट वर्षने पानीलाई जमिनमा रिचार्ज हुने वातावरण सिर्जना गर्नुपर्नेमा जोड दिनुभयो ।