अठ्ठाइसौँ जनयुद्ध दिवसका अवसर पारेर नेकपा (माओवादी केन्द्र) खोटाङले तीनदिने कार्यशाला गोष्ठी आयोजना गरेको छ । स्थानीय तहमा आफ्नो पार्टीबाट निर्वाचित जनप्रतिनिधिलाई काम, कर्तव्य र अधिकार तथा योजना निर्माणका विषयमा प्रशिक्षित गर्ने उद्देश्यले आयोजित गोष्ठीमा माओवादी केन्द्रबाट निर्वाचित १० वटै स्थानीय तहका जनप्रतिनिधि तथा पार्टीका नेताहरू सहभागी छन् ।

जिल्ला समन्वय समिति खोटाङको सभाहलमा आयोजित कार्यशालामा पार्टी केन्द्रीय अनुशासन आयोगका अध्यक्ष टङ्क राई, अर्थ÷राजनीतिक विश्लेषक हरि रोका, प्रेस सेन्टर नेपालका केन्द्रीय सल्लाहकार अध्यक्ष भवानी बराल, अधिवक्ता हरिन्द्र राईलगायतले सहजीकरण गरिरहनुभएको छ । गोष्ठीमा स्थानीय तहका अधिकार र कानुनी व्यवस्था, ग्रामीण विकासको सन्दर्भ, सञ्चारमाध्यम र जनप्रतिनिधि, स्थानीय तहको विकासको सवाललगायतका विषयमा छलफल भइरहेको माओवादी केन्द्र खोटाङका संयोजक दीपक पाण्डेले जानकारी दिनुभयो ।

कार्यशालामा माओवादी केन्द्रबाट निर्वाचित दुई पालिका प्रमुख, दुई उपप्रमुख, २३ वडाध्यक्ष, कार्यपालिका तथा वडासदस्य र पार्टीका नेता सहभागी छन् । पहिलो दिन भएको कार्यक्रममा ग्रामीण विकासको सन्दर्भ, सञ्चारमाध्यम र जनप्रतिनिधि, स्थानीय तहको विकासको सवालका विषयमा छलफल भएको छ ।