किसानले उत्पादन गरेका कृषिउपज सङ्कलन तथा भण्डारण गर्ने उद्देश्यले जिल्लाका तीन स्थानीय तहमा चार वर्षअघि शीतभण्डार स्थापना गर्ने पहल थालिएको थियो । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१४ बुइँपा, दिप्रुङ चुइचुम्मा गाउँपालिका–३ छोरम्बु र रावाबेँसी गाउँपालिका–१ कुभिण्डेमा शीतभण्डार केन्द्र स्थापना गर्ने गरी भवन निर्माणको काम सुरु गरिएको हो ।

दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१४ बुइँपास्थित पञ्चदोबाटोमा निर्माण गरिएको शीतभण्डार उद्घाटन गरिएको ११ महिना पुग्न लाग्यो । संसदीय विकास कोषबाट विनियोजन गरिएको स्थानीय पूर्वाधार साझेदारी विकास कार्यक्रमको रु ५० लाख र नगरपालिकाको रु ४० लाख गरी रु ९० लाखमा निर्माण गरिएको शीतभण्डार केन्द्र गत २०७८ चैत–२५ गते उद्घाटन गरीयो । निर्माण उपभोक्ता समितिमार्फत निर्माण गरिएको शीतभण्डार केन्द्रको भवन नेकपा (एमाले)का पोलिटब्यूरो सदस्यसमेत रहनुभएका पूर्व सांसद विशाल भट्टराईले आफू पार्टीको संसदीय दलका प्रमुख सचेतक भएको समयमा उद्घाटन गर्नुभयो । तीस टन भण्डारण क्षमताको एउटा मात्र च्याम्बर रहेको उक्त चिस्यान केन्द्र उद्घाटन गरेकै दिनदेखि अहिलेसम्म साँचो लगाएर बन्द अवस्थामा छ ।

बुइँपाको पुरानो व्यापारिक केन्द्र पञ्चदोबाटोमा निर्माण गरिएको शीतभण्डार केन्द्रमा जिल्लाका किसानले उत्पादन गरेका कृषि उपज न्यूनतम मूल्यमा भण्डारण गरेर राख्ने र बाहिरी जिल्लामासमेत निर्यात गर्ने योजना बनाइएको थियो । चिस्यान केन्द्रमा राख्दा हरियो तरकारी महिनादिनसम्म र फलफूल चार महिनासम्म सुरक्षित रहने बताइएको छ । किसानको उत्पादनको सुरक्षा र मूल्यमा स्थिरता कायम गर्ने अवधारणा अनुरूप शीतभण्डारकेन्द्र निर्माण गरेर सञ्चालनमा ल्याइएको निवर्तमान नगरप्रमुख दीपनारायण रिजालले बताउनुभएको थियो । रासस