मेहनत गरेर पसिना बगाउँदा बालुवामा पनि सुन फलाउन सकिन्छ भन्ने मान्यता छ । तर मिहिनेत गर्दा बालुवामा मात्र हैन फोहरमा पनि सुन फलाउन सकिँदोरहेछ । सडकको धुलो र नालीको फोहर सङ्कलन गरेर बहुमूल्य धातु सुन निकाल्नु बालुवामा पसिना बगाएर सुन फलाउने जस्तै हो ।
भारतको मध्यप्रदेश जवलपुर निवासी गणेश सोन्जारीले एक महिनादेखि बुटवलको मुख्य बजार अमरपथमा सडक र नालीको फोहर धुलोबाट बहुमूल्य धातु सुन निकाल्ने काम गर्दै आउनुभएको छ । उहाँलाई सडकको धुलो र नालीको फोहर उठाएर त्यसबाट सुन निकाल्न निक्कै मेहनत गर्नुपर्छ ।
उहाँले यो काम गर्न थालेको झण्डै एक दशक भयो । उहाँले सुनचाँदी पसल अगाडि सडकको धुलो बढार्नुहुन्छ । सडक किनाराको नालीको फोहर पनि उठाएर भाँडोमा राखेर लैजानु हुन्छ । सडकको धुलो र नालीको फोहर नजिकैको फोहर पानी बगिरहेको घोलामा लगेर मज्जाले धुनुहुन्छ । धोएर निस्किएको बालुवालाई राम्रोसँग प्रशोधन गरेर बहुमूल्य सुन निकाल्नु हुन्छ । उहाँको यो दैनिकीलाई पत्नी पुष्पाञ्जलिले सघाउँदै आउनुभएको छ । “हामी यहाँ दुई÷चार महिना जति यही काम गरेर बस्छौँ”, उहाँले भन्नुभयो, “एक सिजनमा करिब एक÷डेढ तोला सङ्कलन हुन्छ । त्यसपछि फेरि आफ्नै देशमा फर्किएर यस्तै काम गर्छौं ।”
बुटवलका अमरपथ, सङ्गमपथ र राममन्दिर लाइन, बिपी चोक क्षेत्र धेरै सुनचाँदी कारोवार हुने व्यावसायिक क्षेत्र हुन् । यहाँ सयौँको सङ्ख्यामा सुनचाँदी पसल रहेका छन् । बिहान १० बजेपछि मात्र पसल खुल्छन् तर त्यसअघि नै यो फिरन्ते समुदाय हातमा कुचो, तारका ब्रस, फलामका कराही लिएर सुनचाँदी पसल अगाडि धुलो बढारेर जम्मा गर्न व्यस्त हुन्छन् । कोही भने सडक छेउको नालीको फोहर जम्मा गर्छन् ।