प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले अर्थतन्त्रमा देखिएको सङ्कटप्रति सरकार सचेत रहेको बताउनुभएको छ । आजदेखि महेन्द्रनगरमा सुरु भएको कञ्चनपुर उद्योग वाणिज्य सङ्घद्वारा आयोजित सुदूरपश्चिम प्रदेशस्तरीय औद्योगिक व्यापार मेला तथा कञ्चनपुर पर्यटन महोत्सवको उद्घाटन समारोहलाई सम्बोधन गर्दै उहाँले अर्थतन्त्र सुधारका लागि आफू प्रधानमन्त्री भएपछि विशेष ध्यान दिएको बताउनुभयो ।
आफूले मन्त्रिपरिषद्को पहिलो बैठकमै सार्वजनिक तथा निजी क्षेत्रसित सहकार्यलाई प्रभावकारी तुल्याउने निर्णय गरे बमोजिम देशको अर्थतन्त्र अग्रसर रहेको उहाँले उल्लेख गर्नुभयो । “अर्थतन्त्रमा देखिएका समस्या हल गर्दै निजी क्षेत्रलाई सहज रुपमा लगानी तथा उद्योग, व्यापारको वातावरण बनाउनेतर्फ अगाडि बढेका छौँ ।” प्रधानमन्त्री दाहालले भन्नुभयो– “अर्थतन्त्रमा सुधारका राम्रा सङ्केत देखिएका छन् ।” उहाँले राजस्व सङ्कलन र विदेशी मुद्रा सञ्चयमा वृद्धि भएको बताउँदै यी सबै सकरात्मक सङ्केतका रुपमा लिएको धारणा राख्नुभयो ।
“समग्रमा अर्थतन्त्रको सङ्कट टरेको छैन ।” उहाँले भन्नुभयो– “अझै पनि नीतिगत र योजनागत क्षेत्रमा सुधार गर्नुपर्ने आश्वयकता छ, र सरकार सोही दिशातर्फ अग्रसर पनि छ ।” त्यसैगरी कञ्चनपुरको दोधारा चाँदनीमा निर्माण हुने सुक्खा बन्दरगाह भारतीय पक्षको प्रतिबद्धतापछि समझदारीपत्रमा हस्ताक्षर भएको र निर्माण प्रक्रिया अघि बढेको बताउनुभयो ।