तुलसीपुर–१९ छिल्लीकोटका प्रविर पुनले फोन गर्न डाँडोमा पुग्नुपथ्र्यो । डाँडोमा पुग्दा पनि ‘नेटवर्क’ले राम्रोसँग काम गर्दैनथ्यो तर अहिले उहाँको मोबाइलमा ‘फोरजी’ चल्न थाल्यो ।
छिल्लीकोटमै बनेको टेलिकम टावर सञ्चालनमा आएपछि उहाँको मोबाइलमा फोरजी चल्न थालेको हो । “पहिले फोन गर्न नै डाँडोमा पुग्नुपथ्र्यो, प्रविधिको जमाना छ, नेट चलाउन पनि डाँडामै पुग्नु पथ्र्यो”, उहाँले भन्नुभयो, “डाँडोमा पुग्दा पनि राम्रोसँग नेट चल्दैनथ्यो, तर, अहिले यहीको टावर सञ्चालनमा आएपछि घरभित्रैबाट नेट चलाउन पाइएको छ ।”
त्यस्तै सोही ठाउँका पूर्ण पुन पनि घरबाटै फोन गर्न पाउँदा निकै खुसी हुनुहुन्छ । उहाँले आफ्नै पहलमा टावर बनेको जनाउँदै टावर निर्माण भएपछि आफूहरुलाई निकै सहज भएको बताउनुभयो । “मेरै पहलमा टावर निर्माण भएको हो, अहिले यो टावर सञ्चालनमा आएको छ”, उहाँले भन्नुभयो, “टावर सञ्चालनमा आएपछि अहिले घरबाटै फोन गर्न सकिएको छ ।” छिल्लीकोट दाङको पर्यटकीय गन्तव्य पनि हो । त्यही फोनले काम नगर्दा समस्या हुने गरेको थियो । ‘एनसिएल’ले काम गर्ने गरेको भए पनि ‘एनटिसी’ले काम नगर्दा समस्या हुने गरेको थियो ।