सुनवलमा कभर्डहलको निर्माण सुरु
नवलपरासी (बर्दघाट–सुस्ता पश्चिम) को सुनवलमा कभर्डहलको निर्माण सुरु गरिएको छ । सुनवल नगरपालिका–३ कीर्तिपुरमा सो कभर्डहलको
निर्माण सुरु गरिएको हो । कभर्डहल निर्माणका लागि नगरपालिकाले तत्कालका लागि रु ६० लाख उपलब्ध गराएको कभर्डहल निमार्ण उपभोक्ता समितिका अध्यक्ष कुलप्रसाद भट्टराईले जानकारी दिनुभयो ।

वडादेखि नगरको समग्र विकासका लागि सम्पूर्ण खेलाडीलाई एकै ठाउँमा समावेश गरिने गरी तेक्वान्दो, भलिबल र टिटीलगायतका खेल खेल्न मिल्ने कभर्डहलको निर्माण गरिएको अध्यक्ष भट्टराईले जानकारी दिनुभयो । कभर्ड हल एउटा वडाको मात्र जिम्मेवारी नभई नगरभित्रकै आयोजना भएकाले बजेट अभाव हुन नदिनका लागि प्रदेश र सङ्घीय सरकारसँग पहल गर्ने नगर उपप्रमुख सूर्य दुवेले बताउनुभयो ।

भूमि आयोगद्वारा नयाँ जग्गाको नापजाँच सुरु

सात पालिका रहेको नवलपरासी (बर्दघाट–सुस्ता पश्चिम) मा भूमि आयोगद्वारा हालसम्म दुई नगरपालिकामा मात्र नयाँ जग्गाको नापजाँच सुरु गरिएको छ । सुनवल र बर्दघाट नगरपालिकामा मात्र नयाँ जग्गाको नापजाँच सुरु गरिएको भूमि आयोगका जिल्ला अध्यक्ष देवराज भण्डारीले जानकारी दिनुभयो ।

भूमि आयोगबाट आठ र जिल्ला नापी कार्यालयबाट पाँच जनाको अमिन टोली तथा विज्ञ सदस्यसहित नापजाँचको काम थालिएको हो । पहिलो चरणमा अव्यवस्थित सुकुम्बासीको र चरणबद्धरुपमा अन्य सबैको नापजाँच सुरु गरिएको भण्डारीले बताउनुभयो ।रासस