जिल्ला प्रशासन कार्यालयले दैनिक करिब दुई सय नागरिकता जारी गर्दै आएको छ । दुई इलाका प्रशासन कार्यालय र एउटा जिल्ला प्रशासन कार्यालय गरी तीन स्थानबाट दैनिक करिब दुई सय नागकिता जारी हुँदै आएको प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले जानकारी दिनुभयो ।
उहाँका अनुसार जिप्रकाबाट करिब एक सय र इलाका प्रशासन कार्यालय हरिवनले करिब ५० र इलाका प्रशासन कार्यालय बरहथवाले करिब ५० नागरिकता दैनिक जारी गर्दै आएका छन् । “पर्याप्त जनशक्ति भए चार सयसम्म नागरिकता जारी गर्न सकिन्थ्यो”, सहायक प्रमुख जिल्ला अधिकारी हरिप्रसाद अधिकारीले बताउनुभयो ।
उहाँका अनुसार जिल्ला प्रशासन कार्यालय सर्लाही र इलाका प्रशासन कार्यालयमा प्रशासकीय अधिकृत अभाव हुँदा नागरिकलाई निकै सास्ती भएको छ भने कार्यालयमा निकै चाप छ । “जिल्ला प्रशासन कार्यालयसहित दुईवटा इलाका प्रशासन कार्यालयमा नै प्रशासकीय अधिकृत अभाव छ । म सर्लाही आएलगत्तै माथिल्लो निकायलाई लेखी पठाएको छु । जवाफ आउँछ कि कर्माचारी आउँछन्, पछि थाहाहोला”, प्रजिअ यादवले भन्नुभयो । उहाँका अनुसार कार्यालयमा सबैभन्दा धेरै काम र जिम्मेवारी हुने प्रशासकीय अधिकृत नै नहुँदा सेवा प्रवाहमा समस्या भएको छ ।रासस