पाल्पाकै ठूलो अस्पतालका रुपमा रहेको रामपुर अस्पतालमा लैङ्गिक हिंसासम्बन्धी एकद्वार सङ्कट व्यवस्थापन केन्द्र स्थापना गरिएको छ ।

लैङ्गिक हिंसामा परेका नागरिकको स्वास्थ्योपचार, कानुनी उपचार र कानुनी सहायता, परामर्श र पुनरुत्थान गर्ने उद्देश्यले यहाँ एकद्वार सङ्कट व्यवस्थापन केन्द्र (ओसिएमसी) स्थापना गरिएको हो । ओसिएमसीबाट प्रदान हुने सबै सेवा निःशुल्क रहनेछ ।

ओसिएमसीका लागि अस्पतालमा छुट्टै कार्यकक्ष व्यवस्थापन गरिएको हुँदा लैङ्गिक हिंसामा परेका पीडित जुनसुकै समयमा यहाँ आएर सेवा लिनसक्ने अस्पतालका निमित्त मेडिकल सुपरीटेन्डेन डा विजय परियार बताउनुहुन्छ ।

आधारभूत सेवा लगभग पूर्ण रहेको र निकट भविष्यमा बहु–विशेषज्ञ सेवा सञ्चालन गर्ने तयारी अस्पतालले गरिरहेको छ । अस्पताल विकास समितिका अध्यक्ष रामप्रसाद ढकालले हिंसाका घटना बढ्दै गरेको अवस्थामा स्वास्थ्योपचारका लागि अस्पताल आउने पीडितले एकै ठाउँबाट अब कानुनी उपचार, पुनःस्थापनालगायत सेवा पाउने बताउनुभयो ।

“कतिपय पीडित अवस्थामा रहे पनि कानुनी उपचारका लागि न्यायको खोजीमा पुग्दैनन्, भित्रभित्रै हिंसाका सिकार भएर बस्न बाध्य छन्”, उहाँले भन्नुभयो, “अब उनीहरुलाई स्वास्थ्योपचार, कानुनी उपचारदेखि पुनःस्थापनाका कुरा एकै ठाउँबाट सेवा दिनका लागि यो सेवाको सुरुआत गरेका छौँ ।”रासस