बाँकेको खजुरा गाउँपालिकाले निर्माण गरेको नयाँ भवन सञ्चालनमा नआउँदै जीर्ण अवस्थामा छ । सो गाउँपालिकाको वडा नम्बर ५ स्थित निर्माण गरिएको भवन सञ्चालनमा नआउँदै जीर्ण अवस्थामा पुगेको हो ।

सुरुमा प्राविधिक विद्यालय बनाउने योजनाका साथ उक्त भवन निर्माण थालिएको हो । एक स्थानीय तहमा एउटा मात्र प्राविधिक विद्यालय सरकारले सञ्चालनको अनुमति दिने भएपछि खजुरामा दुई प्राविधिक विद्यालय यसअघि नै रहेकाले समस्या भएको थियो । उक्त भवनलाई मुस्लिम छात्रा पढाउने गरी विद्यालय सञ्चालन गर्ने गरी गाउँपालिकाले भवन निर्माण सम्पन्न गरे पनि उक्त योजना कार्यान्वयन भएको छैन ।

वडा नम्बर ५ स्थित भानु माविको करिब सात कट्ठा क्षेत्रफलमा निर्मित दुई तले भवनको संरक्षण तथा सञ्चालनमा पालिकाले चासो नदेखाउँदा जीर्ण बनेको स्थानीय राजेश शर्मा बताउनुहुन्छ ।

प्रदेश सरकार र गाउँपालिकाको संयुक्त लगानीमा रु १० लाखमा निर्मित भवनमा आठ कोठा छन् । दुई चरणमा निर्माण सम्पन्न गरिएको उक्त भवन बनाउँदा वडा नम्बर ५ का वर्तमान वडाध्यक्ष गरिवे शेष आफैँ निर्माण उपभोक्ता समितिका संयोजक रहनुभएको थियो । अहिले वडाध्यक्षमा निर्वाचित भए पनि उहाँले भवन सञ्चालन र संरक्षणमा चासो नदेखाएको स्थानीयको आरोप छ ।

वडाध्यक्ष शेषले प्राविधिक विद्यालयका लागि पहल भइरहेको बताउनुभयो । खजुराका अध्यक्ष डम्बरबहादुर विकले जीर्ण भवन मर्मत गरिने बताउनुभयो । प्राविधिक कक्षा सञ्चालन गर्न असम्भव भए भानु माविको कक्षा ११ र १२ को पढाइ उक्त भवनबाट सञ्चालन गर्न सकिने विकले बताउनुभयो । रासस