बाँकेको डुडवा गाउँपालिका–६ स्थित जयन्दु बालसुधार गृहमा भएको तोडफोड र आगजनीपछि आज दुई पक्षबीच सहमति भएको छ ।
काठमाडौँ जानका लागि अस्वीकार गरेका सात युवालाई जिल्ला प्रहरी कार्यालयमा स्थानान्तरण गर्ने सहमति भएको युसीइपी नेपालका निर्देशक केशव सुवालले जानकारी दिनुभयो ।
“तत्कालका लागि यो घटना साम्य भएको छ, अब जिल्ला प्रहरी कार्यालयमा बस्न उहाँहरु राजी हुनुभएको छ”, उहाँले भन्नुभयो । निर्देशक सुवालले काठमाडौँ स्थानान्तरण तालिम दिनका लागि गर्न लागेको उल्लेख गर्दै कपिलवस्तुबाट सरुवा भएर आएका उनीहरु थप दुव्र्यसनमा फसेकाले पनि स्थानान्तरण गर्न खाजेको जानकारी दिनुभयो ।
स्थानान्तरण हुने र नहुने दुई पक्षबीचको विवादले उग्र रुप लिँदा सो घटना भएको बाँकेका प्रमुख जिल्ला अधिकारी विपीन आचार्यले बताउनुभयो । सुधारगृहमा रहेका केहीलाई काठमाडौँ स्थानान्तरण गर्न थालेको भन्दै तोडफोड र आगजनी भएको थियो । बालसुधार गृहमा हतियारसहित प्रवेश गर्न कठिनाइ भएकाले अवस्था नियन्त्रणमा ल्याउन प्रहरीलाई हम्मेहम्मे परेको थियो ।
प्रहरीले नेपालगञ्जबाट दमकल बोलाएर आगो नियन्त्रणमा लिने प्रयास गरे पनि नियन्त्रणमा लिएलगत्तै उनीहरुले आफै सुत्ने सिरक डसनामा आगजनी गरेका थिए । तोडफोड भएको ब्लकमा परेका करिब ७० जना आश्रित छन् । सुधारगृहका तीन भवनमध्ये पुरानो भवनमा आगजनी र तोडफोड भएको हो ।
सुधार गृहमा कूल दुई सय २३ जना आश्रित छन् । उनीहरुबीच पछिल्लो एक महिनामा चार पटक झगडा भएपछि केहीलाई काठमाडौँ स्थानान्तरण गर्ने तयारी गरिएको थियो ।रासस